सर्लाहीका असईलाई डिआईजीले गरे निलम्बन

हरिवन – सर्लाहीको मोहनपुर स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनी निलम्बनमा परेका छन् ।

प्रदेश २ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले असई सहनीलाई निलम्बन गरेका हुन् । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशुकुमार सिंहले ईमेल मार्फत गराएको जानकारी अनुसार सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीति विरुद्ध भएको यथेष्ट प्रमाण भेटिएकाले तत्काल निलम्बन गरेर कारबाही प्रकृया अगाडी बढाईएको हो । जिम्मेवारीमा राखेरै कारबाही प्रकृया अगाडी बढाउँदा आवश्यक पर्ने सबुत प्रमाणहरु नष्ट पार्न सक्ने सम्भावना रहेकाले निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २ नम्बर प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुर दरबन्दी भएका असई सहनी मोहनपुर प्रहरी चौकीमा काजमा थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतका अनुसार प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले निलम्बनका लागि सिफारिस गरेका थिए । ‘एसपी साहेबले हबल्दार सम्मलाई निलम्बन गर्न मिल्छ, त्यसैले असई सहनीलाई निलम्बनका लागि उहाँले डिआईजी साहेबका सिफारिस पठाउनु भएको थियो’, एक प्रहरी अधिकारीले भने ।

सर्लाहीमा प्रहरी उपरीक्षक पोखरेलले जिम्मेवारी सम्हालेयता सिमरा फेनरा प्रहरी चौकीका असई सहित ४ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् ।