लालबन्दीमा वडाध्यक्ष लगायत तीन जनामा कोरोना संक्रमण, भाेलीबाट लालबन्दी “सिल”

7

जनार्जन खत्री, उज्यालो अभियान/लालबन्दी – सर्लाहीको लालबन्दीमा आज (सुक्रवार) तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

यही साउन २१ गते थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएको ४१ जनामध्ये एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उज्यालो अभियानलाई बताए । संक्रमित तीनै जनालाई आजै नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइसकिएको छ ।

लालबन्दीमा आज दोस्रो पटक कोरोना संक्रमित थपिएका हुन् । यसअघि साउन २ गते र १९ गते दुई पटक थ्रोट स्वाब परीक्षण गराउँदा भारतको केरलाबाट आएका एक जनामा कोरोना संक्रमण पाइएको थियो । उनी अहिले नवलपुर आइसोलेसनमै छन् ।

यसैगरी लालबन्दी घर भएका एक जनाको अस्ती (वुधवार) मात्रै चन्द्रनिगाहपुरमा गएका बेला थ्रोट स्वाब परीक्षण गराउँदा कोरोना पोजिटिभ पाइएको थियो । उनी चन्द्रनिगाहपुरबाट थप उपचारका लागि पाटन अस्पताल, ललितपुर गएको बुझिएको छ ।

यसैबीच लालबन्दी नगरपालिकाले अहिले (सुक्रवार) साँझ आकस्मिक सूचना निकालेर भोली (शनिवार) बाट औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था सबै बन्द गर्ने जनाएको छ । मेयर मानबहादुर खड्काले समुदाय स्तरमै संक्रमण फैलिएको पाइएपछि भोलीबाट लकडाउनमा अझ कडाई गरिने बताए ।

लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न लालबन्दी प्रहरीले केही दिनदेखि कडाई गरिरहेको थियो । आज मात्रै बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने ३४ जनालाई जनही एक सय रुपियाँका दरले जरिवाना तिराइएको लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण थापाले बताए ।

यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार सर्लाहीमा आज १३ जना संक्रमित थपिएका छन् । संक्रमितहरु कुन–कुन ठाउँका हुन पहिचान गर्ने काम भइरहेको प्रजिअ पौडेलले बताएका छन् ।