सशस्त्रका डिआईजीले गरे त्रिभुवननगर बिओपी भवनको उद्घाटन

3
संयुक्त रुपमा भवन उद्घाटन गर्दै बाँयाबाट जिसस प्रमुख चौधरी, प्रजिअ पौडेल, डिआईजी ब्रम्हाचार्य र गाउँपालिका अध्यक्ष साह । (तस्बिर : उज्यालो अभियान)

त्रिभुवननगर – सशस्त्र प्रहरी बलको त्रिभुवननगर स्थित बोर्डर आउट पोष्ट भवनको उद्घाटन गरिएको छ ।

बुधबार दिउँसो कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्य तथा विशिष्ट अतिथिहरु जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साह र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । जिल्ला विकास समितिका पूर्व सभापति एवं स्थानीय समाजसेवी रामपदारथ साहले दान गरेको ५ कठ्ठा जमिनमा १ करोड ३ लाख ४६ हजार ३२५ रुपैंया लागतमा ठेक्का मार्फत भवन निर्माण गरिएको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।

निकै थोरै सहभागि कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्रका डिआईजी ब्रम्हाचार्यले सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले सिमाको सुरक्षा मात्र नभई चोरी तस्करी नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम लगायत विषयमा समेत काम गरिरहेको बताए । नागरिकहरुसँग समन्वय गर्दै संगठनले काम गरिरहेको समेत उनको भनाई थियो । उनले ठूलो मूल्य पर्ने जग्गा दान गर्ने रामपदारथ साहलाई विशेष आभार प्रकट गरे । जग्गा दाता साहलाई कार्यक्रममा दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष साह, प्रजिअ पौडेल लगायतले चोरी तस्करी नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम राख्ने सवालमा सशस्त्र प्रहरी बलले ठूलो योगदान गरिरहेको भन्दै अब नयाँ भवनमा बसेपछि सुरक्षाकर्मीमा थप उर्जा समेत आउने आशा व्यक्त गरे । गाउँपालिका अध्यक्ष साहले त अब ईन्भर्टर लगायत विद्युतीय सामग्री समेत १ महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले स्वागत सहित भवन निर्माणको विवरण समेत प्रस्तुत गरेका थिए ।

२०६५ पुस २७ गते रुपमा स्थापना भएको सिमा सुरक्षा पोष्टलाई २०६६ माघ २१ गते बिओपीको रुपमा परिणत गरिएको थियो । त्यहाँ खटिने सुरक्षाकर्मीहरु लामो समयदेखि झुपडी (कच्ची) घरमा बस्दै आईरहेका थिए ।

कार्यक्रममा नेपाली सेना रणशेर गणका गणपति प्रमुख सेनानी सुरेश राउत, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह लगायतको उपस्थिती रहेको थियो ।