‘लकडाउन’ उल्लंघन गरेको भन्दै सर्लाही प्रहरीद्वारा ६५१ सवारी साधन नियन्त्रण

मलंगवा – ‘लकडाउन’ उल्लंघन गरेको भन्दै आज (बुधबार) ६५१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सहित जिल्ला स्थित विभिन्न ठाउँका प्रहरी ईकाईका टोलीले आज दिनभर उक्त संख्यामा सवारी साधन नियन्त्रणमा लिएर छाडेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरित अटेर गरी सञ्चालन गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर आईन्दा नचलाउने शर्तमा सम्झाई बुझाई छाडिएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कँुवरले जानकारी दिए ।

नियन्त्रणमा लिएकोमध्ये ६४८ वटा मोटरसाइकल, २ वटा अटो र एउटा ट्याक्टर रहेको सर्लाही प्रहरीले जनाएको छ । घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई आज सम्झाई बुझाई घरतर्फ नै फर्काइएको र भोलीदेखी नियमको उल्लंघन गरे अनिवार्य जरिवाना तिराईने प्रवक्ता कँवरले बताए । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइने कुवँरले बताए । सर्लाहीमा कोरोना भाइरस फैलिन नदिन भन्दै स्थानीय प्रशासनले मंगलबार जारी गरेको आदेश अनुसार साउन २७ गते राति १२ः०० बजेसम्म लागू हुने गरि अनुमति नलिएका तथा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यसेवा, खाद्यान्न ढुवानी लगायत अत्यावश्यक सामान बोकेका बाहेक निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाईएको छ ।