‘मास्क लगाऔं, कोरोना भगाऔं’ भन्दै लायन्स क्लबले लालबन्दीमा बाँड्यो निःशुल्क मास्क

लालबन्दी बजारस्थित राजमार्गमा मास्क वितरण गरिँदै ।

जनार्जन खत्री/उज्यालो अभियान, लालबन्दी – कोरोना संक्रमण बढ्दै गइरहेकाले मास्क लगाएर मात्रै हिडडुल गर्न जागरुक गर्दै सर्लाहीको लालबन्दी बजारमा शनिवार बिहान निःशुल्क रुपमा मास्क वितरण गरिएको छ ।

लान्यस क्लब अफ लालबन्दी सिटीको तर्फबाट मास्क लगाऔं, कोरोना भगाऔं भन्ने नाराका साथ राजमार्गमा पसल व्यवसाय गर्ने व्यक्ति, पैदल यात्री तथा साइकल, मोटरसाइकल र गाडीमा यात्रा गरिरहेकाहरुलाई ६ सय थान मास्क वितरण गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । लायन्स क्बल अफ लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबको कार्यालय उद्घाटन पश्चात सामाजिक कार्य अन्तर्गत दुवै क्लबका पदाधिकारीहरुले राजमार्गमा निस्किएर मास्क वितरण गरेका हुन् ।

लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा लालबन्दीस्थित विष्णु मार्केटमा लायन्स र लियो दुवै क्लबको एकैसाथ कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाली काँगे्रस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्य, लायन्स र लियो क्लबका वर्तमान अध्यक्षहरु क्रमश : राजकुमार न्यौपाने र राजकुमार पोखरेल, लायन्स क्लबका पूर्व अध्यक्ष दीपेन्द्र अधिकारी, क्लबका सदस्यहरु र यहाँका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।