सर्लाहीमा आए नयाँ सिडिओ

सर्लाहीका नयाँ सिडिओ सुरेन्द्र पौडेल सुक्रवार जिल्ला प्रशासन कार्यालयमा कार्यभार सम्हाल्दै । तस्बिर सौजन्य : जिल्ला प्रशासन कार्यालय

मलंगवा – सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले आज (सुक्रवार) बाट कार्यभार सम्हालेका छन् ।

गोरखाबाट यहाँ सरुवा भएर आएका प्रजिअ पौडेलले सुक्रवार दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवा आएर कार्यभार सम्हालेका हुन् । प्रजिअ पौडेललाई जिल्लाका सुरक्षा अधिकारीहरुले स्वागत गरे ।

नयाँ प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालो अभियानसँग कुरा गर्दै सबैसँग समन्वय गरी जिल्लाको शान्ति सुरक्षा कायम गर्नेदेखि अन्य समस्याहरुको समाधान गर्न पहल गर्ने बताए ।

यसअघिका प्रजिअ मोहनबहादुर जिसी गृह मन्त्रालय सरुवा भएर गएपछि पौडेल गोरखाबाट यहाँ आएका हुन् । जिसी गत वुधवार आफू सरुवा भएको गृह मन्त्रालय काठमाण्डौं गएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयचन्द्र साहले दुई दिन निमित्त प्रजिअको जिम्मेवारी सम्हालेका हुन् ।