सोल्टीको साना किसानद्वारा ऋणीलाई ४८ लाख छुट

पत्रकार सम्मेलनमा विवरण प्रस्तुत गर्दै संस्थाका सञ्चालक सदस्य भुपेन्द्र मान श्रेष्ठ तथा उपस्थित प्रमुख अतिथि वडाध्यक्ष, संस्थाकी अध्यक्ष कमल कुमारी लगायत । (तस्बिर : घनश्याम बलाम्पाकी/उज्यालो अभियान)

सोल्टी – सर्लाहीको बागमती नगरपालिका–१० अन्तर्गत शंकरपुरको सोल्टीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले ऋणीहरुलाई ब्याजमा ४७ लाख ९५ हजार ८३९ रुपैंया छुट गरेको छ ।

कोरोना भाईरस संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले गरेको लकडाउनका कारण मारमा परेका ऋणीहरुलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्धेश्यले संस्थाले सकेजति ब्याजमा छुट दिएको संस्थाका संञ्चालक सदस्य भुपेन्द्र मान श्रेष्ठले जानकारी दिए । ‘अन्य समयमा पनि हामीले नियमित ब्याज बुझाउनेलाई ब्याजको ५ प्रतिशत छुट दिँदै आएका थियौं’, संस्थाले मंगलबार आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले भने, ‘लकडाउनको अवधीमा भने २० प्रतिशतसम्म छुट दिएका छौं ।’ श्रेष्ठका अनुसार चैत महिनामा २५ प्रतिशत तथा बैशाख, जेठ र असार महिनामा भने १८ प्रतिशतसम्म छुट दिईएको छ ।

त्यसैगरी प्रदेश सरकारले चैत देखि असार सम्मको ब्याजमा १२ प्रतिशतका दरले उपलब्ध गराएको अनुदान कार्यक्रममा संस्थाका ३४७ जना ऋणीले १४ लाख ५० हजार ८२९ रुपैंया प्राप्त गरेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार संस्थाले लकडाउनको अवधीमा १५ सय बोरा युरिया प्रति बोरा ९०० रुपैंयाकै दरले शेयर सदस्य किसानलाई उपलब्ध गराएको थियो । ‘बजारमा किन्दा किसानले १८ सय रुपैंयासम्म तिर्न बाध्य भएका थिए’, श्रेष्ठले भने, ‘तर हाँमीले ९०० रुपैंयामै दियौं ।’

कोरोना भाईरस संक्रमण विरुद्ध काम गर्नका लागि बागमती नगरपालिकालाई १ लाख १ हजार, बरहथवा नगरपालिकालाई २५ हजार सहयोग, प्रदेश सरकारको ब्याज छुटका लागि फारम भराउने, फोटोकपी गराउने लगायतमा १ लाख ८ हजार ६१० रुपैंया खर्च गरिएको र कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि कार्यालयमा सुरक्षा सामग्रीहरु खरिद गर्दा ४६ हजार ४४५ रुपैंया खर्च गरिएको संस्थाका प्रबन्धक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनका कारण बजार नपाएपछि निकै सस्तोमा किसानले मकै बेच्न बाध्य भईरहेको अवस्थामा संस्थाले ३२१ मेट्रिक टन खरिद गरी गोदाम गरिएको अध्यक्ष कमल कुमारी पोखरेलले जानकारी दिईन् । संस्थाकी अध्यक्ष कमल कुमारी पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा बागमती नगरपालिका–८ का वडाध्यक्ष मानबहादुर लामा प्रमुख अतिथि रहेका थिए । सञ्चालक सदस्य भुवनप्रसाद निरौलाले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक सदस्य राजेन्द्रप्रसाद महतो कोइरीले स्वागत गरेका थिए । कार्यक्रममा वडा सदस्य विश्वनाथ महतो लगायतको आतिथ्यता रहेको थियो ।२०६३ सालमा स्थापित संस्थामा हाल २ हजार २२७ महिला तथा ७५५ पुरुष गरी २ हजार ९८२ जना शेयर सदस्य रहेका छन् । गत आर्थिक वर्षमा ४९ करोड ६५ लाख २२ हजार ४१० रुपैंयाको कारोबार गर्दै ९८ लाख ३३ हजार ९४४ रुपैंया नाफा भएको संस्थाका प्रबन्धक काफ्लेले जानकारी दिए ।