प्रशंसा बटुलेर हरिवनबाट बिदा भए सिडिओ जिसी

हरिवन नगरपालिकाले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै सिडिओ जिसी । तस्बिर : उज्यालो अभियान

हरिवन – सर्लाहीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई हरिवन नगरपालिकाले मंगलवार बिदाई गरेको छ ।

नगरपालिका कार्यालयको प्रांगणमा खादा पहि¥याएर सिडिओ जिसीको बिदाई गरिएको हो । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले अत्यन्त नरम, मिजाशीला, क्षमतावान, इमान्दार र कर्तव्यपारायण प्रजिअ जिसीको प्रशंसा गरे ।

समग्र जिल्लाको शान्ति सुरक्षा, अमनचयन र कोभिड–१९ को प्रकोप रोकथाम तथा नियन्त्रणमा जिसीले चालेका कदम उदाहरणीय रहेका मेयर प्रसाईले बताए । उपमेयर रेणुका पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवाला र कर्मचारी लगायतको उपस्थिति थियो ।

प्रजिअ जिसीलाई मंगलवार नै हरिवनमा उज्यालो अभियान मिडिया नेटवर्क प्रालि र स्वाभिमान अस्पतालले पनि बिदाई गरेका छन् । यस्तै कर्मचारी मिलन केन्द्र सर्लाहीले सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी जिसी र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीलाई बिदाई गरेको छ ।

सबै स्थानबाट बिदाई हुँदै प्रजिअ जिसीले कार्यकालभरी सहयोग गर्ने सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद ज्ञापन गरेका छन् । एक वर्ष सर्लाही जिल्लाको कार्यभार सम्हालेका जिसीको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयले अहिले गोरखामा रहेका सिडिओ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको जिम्मेवारी दिएर खटाएको छ ।