कथा : लकडाउन

3
- गोपाल चन्द्र भट्टराई

मानौ कि यो चराचर जगतलाई चञ्चल र चलायमान बनाउने श्रृष्टिकर्ता आफैले केही समय स्थिर रहने उर्दी जारी गरेका छन् – चारैतिर लकडाउन छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, सामाजिक सञ्जाल सबैको एक मुख भएको छ – घरैमा रहौं । ठूला ठूला नेता, सेलिब्रिटी, विद्वत व्यक्ति, घरकी आमा, श्रीमती सबैको अनुरोध छ – केही समय बाहिर ननिस्कौ । मानव इतिहासमै पहिलो पटक केही नगरी,निस्कृय, अकर्मण्य बसेर समाज र राष्ट्रको उच्चतम सेवा गर्ने अवसर प्राप्त भएको छ । कोरोनाको कहरले विश्चब्यापी नयाँ सिद्धान्तहरु एवम् नयाँ मानवीय व्यवहार र शैलीहरुको प्रवर्तन गरेको छ । कैयौ प्रचलित धारणा र विचारहरुलाई पुन परिभाषित गरेको छ ।

           मलाई भने लकडाउन कस्तो हुँदोरहेछ भनेर घर बाहिर निस्कने, टोल बजार घुम्ने र यसले उत्पन्न गरेको एक प्रकारको सेन्सेसन, रोमाञ्चकता एवम् रुमानी प्रभाव अनुभूत गर्ने हुटहुटिले छोएको छ । “ भान्जाबाबु, यस्तो वेला किन वाहिर ?” भनेर माइजूले रोक्दारोक्दै “एकैछिनमा आइहाल्छु” भन्दै म घरको गेट वाहिर निस्किहाले । छिमेक ,टोल हुँदै अलिपर चोकमा पुग्दा अरु पनि थुप्रै रमितेहरु उत्सुक भएर वरपरको गतिविधी अवलोकन गर्दै गरेका पाइए । म अझै केही परसम्म गएँ । अर्को चोकमा दृष्य अलि भिन्न रहेछ । लकडाउन सम्बन्धी सरकारी आदेश लागू गराउन प्रहरीहरु खटिएका रहेछन् यहाँ । म अलि परै बसेर यो दृष्य हेर्न थाले  । प्रहरीहरु वडो सक्रिय देखिन्थे, असिन पसिन हुँदै वडो मेहनेत गरिरहेका थिए । प्रहरीले सानो हाते माइकबाट सर्वसाधरणलाई लकडाउनको वेला पालना गर्नुपर्ने नियमहरु बारे जानकारी गराएको, सरकारी आदेशको उल्लंघन गर्ने व्यक्तिहरुलाई हुने कानूनी कारवाहीवारे सचेत गराएको, त्यती गर्दा गर्दै पनि आदेश नमान्नेहरुलाई विच सडकमा उठबस गराउँदै गरेको र यदा कदा केही उदण्ड व्यक्तिहरुलाई लाठी समेत हान्दै उक्त स्थानबाट भगाएका दृष्यहरु बडो दिलचस्प थिए ।मैले धित मरुञ्जेल उक्त रमिता हेरे । विस्तारै प्रहरीहरु अन्य चोक र टोलहरु समेतमा फैलँदै गएको आभाष  पाएर केही समय पछि म पनि प्रहरी कार्वाहीमा परिने डरले हतार हतार घरतिर लम्किएँ ।

       मोवाईल मैले घरमै चार्जमा राखेको थिएँ । आएर हेर्छु त मनिषाको पाँचवटा मिस्ड कल रेकर्ड भएको रहेछ । के परेछ त्यस्तो भनेर म उसलाई फोन गर्न लागेको थिएँ, उसैको फोन आयो ।

      “ हेलो, के छ ?”

     “फोन चाहिं उठाउनु पर्दैन ? नउठाउने भए किन राखेको त्यो ठाँडो, फ्याँकिदिनु नि ।”

     “हैन स्वर त कडा पो छ त, के भयो हो त्यस्तो ?”

     “हुँदैन त कडा, यहाँ आफुलाई कस्तो आपत परेको छ । मेरो पिरीयड रोकियो ।

“के हो पिरीयड भनेको ? परीक्षा रोकियो भनेको ?त्यो त मलाई पनि थाहा छ नि , रोकिएर के भो त,झन पढ्ने टाइम पाइयो ।”

“हरे, म के गरुँ, यस्ता त मान्छे छन् ! पिरियड भनेको मिन्स्ट्रुएसन, मेरो मिन्स रोकियो भनेको , बुझ्नु सुझ्नु  छैन, त्यसै ’’ ।

एकछिन त मैले तात्पर्य नै बुझिन, ‘ मिन्स रोकिए मैले के  गर्नु त ’ जस्तो लाग्यो । तर विद्युतीय झड्का जस्तो जव यसको अर्थ दिमागमा सञ्चारित भयो, म त उभिएकै स्थानमा ‘फ्रिज’ भएँ । पुरै जड । स्थिर । मैले टेकिराखेको भुइँ फननन घुमेको जस्तो लाग्यो । म थचक्क नजिकैको सोफामा बसें ।

“ला, हो र ? अब के गर्ने होला नि ! होइन कि, कहिले काहीं ढिलो पनि हुन्छ होला नि ।” मैले झिनो आशाको त्यान्द्रो समातेर आपतको विपुल भेलबाट किनारा लाग्ने कोशिश गरें ।

“होइन, आज सात दिन भइसक्यो, यती ढिलो कहिल्यै हुँदैनथ्यो ।” रुन पो थाले मनिषा । मेरो ओठ मुख सुक्यो । म केही बोल्न खोज्दै थिएँ, मामा भित्रवाट निस्किनु भो । मैले हतारमा “ल, म एकछिनमा  फोन गर्छु” भनेर फोन काटिदिएँ ।

“अनि कस्तो रैछ त लकडाउनको असर बाहिर तिर? अवदेखि जरुरी काम नपरी ननिस्कनु है घरवाट” मामाले भन्नुभो ।  

मेरो दिमागमा धेरै वटा रंगी विरंगी बत्तिहरु एकैपटक बल्दै निभ्दै गरेको हो कि, सयौ चराहरुले चर्को स्वरमा कङ्ल्याङ कुङ्लुङ्ग गरेको हो कि के हो के भाको जस्तो भयो । मामासँग यती सहज कुराकानी अगाडी बढाउन पनि म सँग शब्दै नभएको जस्तो भयो । मैले अन्योलमा मामा तिर हेरेर बेढंगले ङिच्च हाँसे र केही नबेली तुरुन्तै अर्को कोठातर्फ गएँ ।

कोठामा वेडमा डङरङ्ग पल्टें । कसैले निसास्सिने गरी घाँटी पक्रेको जस्तो पनि लाग्छ, छातिमा हेम्मानको ढुंगाले थिचे जस्तो पनि लाग्छ । छट्पटी जस्तो लागेर फेरी जुरुक्क उठें । सुइँ सुइँ सिगरेट तानौ जस्तो लाग्यो, एकमुठी सुपारी मुखमा हालेर गड्याम गड्याम चपाउँ जस्तो लाग्यो । म वेशुरमा उठेर कोठाको एक छेउ वाट अर्को छेउ हिड्न पो थालेंछु । माइजूले चिया लिएर कोठैमा आउँदा पो थाहा पाएँ र सम्हालिएँ ।

“भोक लागेको छ ? केही खाने हो’ ? माइजूले सोध्नुभो ।

मैले चीया समाउँदै माइजू सँग नजर बचाएर “छैन” भने ।

चीया पिइसके पश्चात म हतार हतार घरको छतमा गएँ र मनिषालाई फोन लगाएँ ।

“अव अर्को उपाय छैन, अबोर्सन  गर्नु पर्छ । तिमी यसो गर न, कुनै तरीकाले कसैलाई थाहा नदिकन लालवन्दी आऊ, त्यहाँ भएन भने बर्दिवास  जाऊ, अस्पताल मेडिकलहरु खुल्लै हुन्छन् ,गएर अबोर्सन गराऊ ।” मैले वडो वुझ्झकी बनेर समस्याको समाधान प्रस्तुत गरें ।

“लाज लाग्दैन त्यसो भन्न ? म एक्लै जान सक्छु त्यस्तो ठाउँमा ? मलाई के थाहा, काहाँ जानु, कसलाई भेट्नु, के गर्नु, के भन्नु । एक्लै जा अरे, भन्न पनि कसरी सकेको ।” मनिषा फेरि सुँकसुँक गर्न थाली । म चुप भएँ । उसले फेरि भनी, “तपाईं तुरुन्तै आउनु, भोलि नै ।”

“ल हेर, के भनेकी होला ! कसरी आउनु यो लकडाउनको बेला ? गाडी मोटरसाईकल केही चलेको छैन,पुलिसले वाटोमा मान्छेहरुलाई हिड्न पनि दिँदैन ।”

“मलाई थाहा छैन, जसरी भएपनि आउनु । अर्काकी छोरीलाई अभर पारेर……………..।” ऊ त मजैले पो थाली अब त ।

“जसरी भए पनि आउनु भन्दैमा हुन्छ ? कसरी आउनु ? नचाहिँदो कुरा ।”  म झर्किएँ ।

“ल नआउनु न त त्यसो भए, म पनि झुन्डिएर मर्दिन्छु, अनि तपाईलाई पनि ढुक्क हुन्छ ” मनिषा झन् ठूलो स्वरमा रुन थाली र एकैछिनमा फोन नै काटिदिई ।

मेरा कान राता भए, आत्तिएँ एक किसिमले म । साँच्चै अहिले नै पो झुण्डिन जान लागी कि के हो भन्ने डरले म हड्बडाएँ र हत्तपत्त फोन गरे ।

“ल चुप लागेर बस, म के गर्न सक्छु विचार गरौलां । त्यहाँ धेरै रोइकराइ गर्ने होइन, घरमा थाहा पाउलान् अनि फेरी अर्को आपत आइलाग्ला । म भोलि फोन गर्छु……………….।” मैले फकाएँ । ऊ बल्ल बल्ल सम्हालिई ।

“भाञ्जावावु, खाना खाने वेला भयो , कहाँ हुनुहुन्छ ?” माइजूले तलवाट आवाज दिनुभो ।म कुरा टुंग्याएर हतार हतार ओर्लें ।

मामा माइजूसँग जतिसक्दो कम कुराकानीले काम चलाएर हतार हतार वहाँहरु बाट उम्किएँ म र आफ्नो कोठाभित्र प्रवेश गरें । वेडमा थचक्क वसेको छु,केही उपाय निकाल्न खोज्छु तर मनको हड्वडी, अत्यास र आतंकले सोचाइको श्रृङ्खला नै चुटिन्छ । त्यसै दिग्दार लागेर आयो, झर्को लाग्यो । यो सारा तनाव छोडेर लाचार वनिदिऊँ जस्तो, जे होला होला भगवान भरोषे छोडिदिऊँ जस्तो लाग्यो । कता कता रुन मन लागेको हो कि जस्तो पनि भयो । जीन्दगीको सवै भन्दा कठिन मोडमा पुगेको आभाष भयो मलाई यतिखेर ।

वेडमा पल्टेर आँखा चिम्म गरें । स्मृतीमा मनिषाकी आमाले मेरो बुवासँग कुरा गर्दै गरेको चीत्र आयो । मनिषाकी आमाले भन्नु भो “दाजु,छोरीको एस एल.सी. को जाँच आउन लाग्यो, छोराको पनि आठ कक्षामा जिल्लास्तरीय जाँच  हुन्छ अरे । उत्तमलाई वेलुका वेलुका हाम्रो घर पठाइदिनु न, यसो पढाइ हेर्दिन्छ । नत्र त फेल ने हुने हुन् कि केटाकेटी भन्ने डर भइसक्यो”

बुवाले भन्नुभो, “भैहाल्छ नि, त्यसको के काम छ र वेलुका । खराव संगतमा लागेर हो कि के हो, वेलुका वेलुका बरालिएर हिड्ने भाको छ हिजो आज त्यो । ” म नजिकै थिएँ, बुवाले वोलाएर भन्नुभो “ए उत्तम, सुनिस, भरे बेलुका देखि खाना खाएर वहाँहरुको घर जाने, भाइवहिनी हरुलाई पठाउने, ल हेरौं त कत्तिको सक्दो रैछस्, दुइटैलाई पास गराएर देखाइ हेर त ल ।”

मन नपरे पनि मैले हुन्छ भने र वेलुका देखि मनिषाको घरजान थालें । मनिषाको भाइ चैं पढ्नमा अलि ठग खालको रैछ । बावु आमा नसुतुञ्जेल यसो पढेको जस्तो गर्ने, अनि उनीहरु सुते भन्ने छनक पाउने वित्तिकै किताव थन्क्याएर आफ्नै कोटामा सुत्न गइहाल्ने त्यसपछि सुनसान रातमा कोठामा मनिषा र म मात्र । त्यो जवानी, त्यो सामीप्यता, र त्यो अनुकुलता ।  

हुन त जे भए पनि म नै अघि सरेको त हैन नि ! अर्काको घरमा, उसका बुबाआमा त्यहीं पल्लो कोठामा सुतिराखेको अवस्थामा मलाई केही गर्ने आँट पनि कसरी आउँथ्यो र ? ‘ ट्रिगोनोमेट्री त मलाई एकदम गारो लाग्छ, सिकाइदिनु न ’ भन्दै टेबलको अर्को साइडमा बसेर पढिराखेकि ऊ पहिलोपटक मेरै तिर आएर मसँग टाँसिएर बस्ने ऊ नै त हो नि । तैपनि मैले आफुलाई संयमित नै राखेको थिएँ । आफु पढाइराखेको छु, ऊ भने एउटा हातले मलाई अंगालो हालेर टाँसिएकि छे, कहिले मेरो कपाल चलाउँछे, कहिले मेरो कान सुम्सुम्याउँछे, कहिले बिनापत्तामा त्यसै खित् खित् गरेर हाँस्छे । हुँदा हुँदा अती नै गर्न थाली, पढ्न छोडेर दुबै हत्केलाले मेरो अनुहार सुम्सुम्याउँदै ‘ ओहो, कती ज्ञानी, कती असल मान्छे ’ भनेर मलाई जिस्काउन पो थाली ।मैले मात्र कती सम्हालेर सक्नु आफुलाई, उसको घरमा उसलाई डर छैन भने मलाई मात्र के को खाँचो ? यसरी आखिरमा सबै नहुनुपर्ने कुराहरु भएरै छोडे । उफ् !

ठूलो श्वास फेर्दै मैले आँखा खोलें । यस्तो लाग्यो, मलाई अप्ठ्यारोमा पार्नलाई मनिषाले मात्रै हैन, मनिषाका आमा, बुबा, उसको भाइ, मेरो बुबा लगायत सबै मान्छे, त्यो समय र त्यो परिस्थती मिलेर मरो बिरुद्ध षड्यन्त्र रचेका हुन् ।

तर अब गर्नु चैं के ? प्रश्न जहाँको त्यंही थियो । समस्यालाई त्यत्तिकै छोड्न मिल्दैनथ्यो । केही गरी समस्याको  समाधान भएन भने परीणाम यती भयंकर हुन्छ कि कल्पनै गर्दा पनि आङ सिरिङ्ग हुन्छ । नसोचौं भन्दा भन्दै पनि एउटा डरलाग्दो परिदृष्य मेरो मष्तिस्कमा खडा हुन्छ – गाउँको चोकमा भद्रभलादमीहरु सहितको ठूलो कचहरी वसेको छ ।मनिषा एक छेउमा घोसेमुण्टो लगाएर भुइँमा बसेकि छ, म अर्को छेउमा अँध्यारो अनुहार लगाएर उभिएको छु । मनिषाकी आमाले सवैका अगाडी आफ्नी छोरीले उत्तमको गर्भ बोकेको र समाजले आफ्नी छोरीलाई न्याय दिनुपर्ने कुरा राख्छिन् । पञ्चभलादमीले दुवैको बिहे गराइदिने निर्णय सुनाउँछन् । मेरा बुवा आमा र आफन्तहरुको शीर निहुरिन्छ । मनिषालाई मेरो घरमा जिम्मा लगाएर सबैजना तितरवितर  हुन्छन् ।

म जवर्जस्ती यो सोचाइको क्रमलाई भत्काउँछु – मुटु ढुक ढुक गर्छ  । म भर्खर१९ लागेको, मनिषा १६ वर्षकी, हामी दुवैको पढाइ, करियर, सपना र समग्र भविष्य अन्नत अन्धकारमा विलुप्त हुँदै गएको भान भएर मन आतंकित हुन्छ र म जुरुक्क उठ्छु ।

यसो सोच्छु, यो बेलामा म उहीं घरमै भैदिएको भए कती सजिलो हुन्थ्यो । अब के गर्नु यती टाढा बसेर मैले । ठूलाबडाले भनेको, सम्झाएको कुरा मानेन भने जीवनमा दु:ख पाइन्छ भन्थे, हो रैछ – मलाई बुबाआमाले कती सम्झाउनुभाको थियो अहिले नै काठमाण्डौ नजा भनेर । “ कोरोनाको हल्ला चलिराको छ, भएका स्कुल कलेजहरु समेत बन्द हुन लागेका छन्, तँ चैं किन अहिल्यै जानुपर्यो ? पछि सबै ठिक भएपछि जानु ” भनेर आमाले कती सम्झाउनुभो, वहाँ रुन मात्र सक्नुभाको थिएन मैले जान्छु कि जान्छु भनेर जिद्दि गरेकोले । काठमाण्डौबाट मामाले पनि “ ठिकै छ, पठाइदेऊ न त, भाञ्जाले सारै रहर गरेजस्तो छ, यहाँ हाम्रा केटाकेटीका पनि पखेटा लागिहाले, एउटा अमेरिका, अर्को अष्ट्रेलिया – भाञ्जा आए भने हामी बुढाबुढीलाई पनि साथी हुन्छ, घर अलि रमाइलो हुन्छ ” भनेपछि त झन् म एकैछिन नअडिने भएँ गाउँमा । हेर, त्यतीखेर आमाबुबाले भनेको मानेको भए म यसरी अतालिएर छटपटाउनु पर्थ्यो पानिबाट उफ्रेर अचानक भुंग्रोमा परेको माछा जस्तो ? यो सब मलाई पाप लागेको हो । थुइक्क, मैले आफैंलाई धिक्कारें ।

अहँ, जसरी भए पनि म जानै पर्छ । अब भने मनले एउटा दृढ निश्चय गर्‍यो । सामाजिक सञ्जाल र समाचारहरुमा मानिसहरु पैदलै काठमाण्डौवाट तराइका आफ्ना घरहरु तर्फ गइरहेको मैले हिजो मात्र पढेको थिएँ । मैले अरु कुरा केही सोचिंन, ‘म पनि पैदल जान्छु’ भन्ने एकसुत्रीय निर्णय गरे । मनमा अलि राहत भएको अनुभव भयो ।

रातैभरी निद्रा लागेन, छतपटीमै विताएँ । बिहान ४ बजे पछि उठे । एउटा पछाडी भिर्ने झोला मा एकदुई वटा लुगा, मोजाहरु र दाँत माझ्ने ब्रुश आदि हालें । मेरो साथमा सत्ताइससय रुपैयाँ थियो । त्यती भए मलाई पुग्ने हिसाब गरें । लगभग साढे चार बजे तिर म त्यही झोला बोकेर सुटुक्क मामा घरबाट निस्कें ।

६ बज्दा मैले भक्तपुर पार गरिसकेको थिएँ । म अचानक गायव भएको कुराले हाम्रो परिवारिक वृत्तमा शनसनी फैलाउने निश्चित थियो । त्यसलाई केही मत्थर पार्ने मनसायले मैले मामालाई एउटा मेसेज पठाएँ, “मामा मेरो चिन्ता लिनुपर्दैन, म ठिक छु, केही दिनमा फिर्ता आउँछु । ”  मैले मनिषालाई पनि एउटा मेसेज पठाएँ , “म आउँदैछु, नआत्तिकन बस्नु ” । त्यसपछि मैले मोबाइल स्विच अफ गरे । मन अलि ढुक्क भयो । सडक खाली थियो, म हिडिरहे ।

मान्छेले जे गर्छ, एउटा अदृष्य शक्तिको कारणले गर्छ भन्ने पढेको , सुनेको थिएँ ,हो रहेछ जस्तो लायो । एउटा अदृष्य विषाणु मान्छेको फोक्सोमा प्रवेश गरेको कारणले अहिले  सम्पूर्ण संसार घरभित्र थुनिएको छ,स्थिर छ, एउटा अदृष्य सुक्राणु मान्छेको डिम्वमा प्रवेश गरेको कारणले म चाहिँ घर निकाला भएको छु, चलायमान छु ।

म तेस्रो दिन वेलुकीपख बर्दिवास हुँदै सर्लाही पुगे । बयलवास पुग्दा साँझ पर्नै लागेको थियो । हरिपुर्वा स्थित मेरो घर पुग्न अझै एक डेढ घण्टा लाग्थ्यो । म त्यो रात साथी सिकेन्द्र शाहको बयलवासकै घरमा बसें । धन्न उसलाई म काठमाण्डौ गएको कुरा थाहा थिएन र मलाई ढाँट्न सजिलो भयो कि म एउटा कामले हरिवन गएको थिएँ , फर्कंदा ढिलो भयो । मैले एकछिनको लागि मोवाइल खोलें र मनिषालाई फोन गरेर भने, ” म सर्लाही आइसकेको छु, तिमी कसैले थाहा नपाउने गरी भोलि बिहान दश बजेतिर बयलबास आउनु” । यत्तिका दिनपछि मजाले खाएको दालभात नशा र थकानको कारण ओछ्यानमा ढल्कने वित्तिकै म निदाइहाले ।

भोलिपल्ट भनेकै समयमा मनिषा आइपुगी । कहाँ जाने के गर्ने भन्ने सम्वन्धमा मलाई पनि केही जानकारी थिएन तैपनि मनमा एउटा विश्वास थियो कि लालबन्दीमा अस्पताल, क्लिनिकहरु छन, त्यहाँ हामीलाई कसैले चिन्दैन पनि र हाम्रो काम पनि हुन्छ । म मनिषालाई लिएर लालबन्दी तिर लागें । हामी लालबन्दी पुग्यौं । घरैघरहरु विचको एउटा साँघुरो गल्ली भएर जाँदैथियौं, अलि पर हामी हिंडिरहेको बाटोको केही फराकिलो ठाउँमा पचास साठी जना मानिसहरु भेला जम्मा भएको देखियो । उनीहरुको भावभंगिमा र रवैया हेर्दा लाथ्यो तिनीहरु क्रुद्ध छन्  र उग्र रुपमा प्रस्तुत भइरहेका छन् । छेउमा गएर वुझ्दा थाहा भयो – एकजना मोहमम्मद मिकरानी भन्ने व्यक्ति पाँच दिन अगाडी भारतबाट खुल्ला सिमाना हुँदै  प्रहरीको आँखा छलेर आफ्नो लालबन्दीको घरमा आएर वसेका रहेछन् । कोरोनाको संक्रमण भएका ब्यक्ति भारतबाट आएर बसेको भन्ने सूचना पाएर उनलाई क्वारेन्टिनमा राख्नलाई लैजाने भनेर प्रहरीहरु आएछन् । समुदायको सुरक्षाको लागि प्रहरीलाई सहयोग गर्नुको सट्टा स्थानीय समुदाय भने प्रहरीले हाम्रो केही नभएको स्वस्थ मान्छेलाई पूर्वाग्रही भएर थुन्नलाई लिएर जान लाग्यो भनेर उग्र प्रतिक्रिया दर्शाइरहेका रहेका रहेछन् ।  भिडको पछाडीबाट मनिषा र मैले हेर्‍यौ अलि पर ढाल डण्डा लिएका केही प्रहरीहरु यताबाट मानिसहरुले हानेका इँट्टाढुङ्गाका टुक्राहरुबाट बच्ने कोशिश गर्दै, आफ्नो उपस्थिती दर्शाइरहेका थिए । यताका मान्छेहरु चैं झन् झन् उदण्ड भएर हल्ला गर्दै, प्रहरीलाई गाली गर्दै, ताकी ताकी ढुंगा हान्दै गरिरहेका थिए । एकघण्टा भन्दा बढी भइसकेको रहेछ यो द्वन्द सुरु भएको ।

रमिता हेर्न मजै लागिरहेको थियो तर आफ्नो उदेश्य, पीर , चिन्ता र हुट्हुटी अर्कै थियो । छातिमा थामिनसक्नुको बोझ, मनमा सहीनसक्नुको तनाव थियो । त्यसैले  त्यहाँ अल्मलिएर बस्नुको सट्टा जति सक्दो चाँडो आफ्नो गन्तव्य तर्फ लाग्नु नै श्रेयस्कर हुने ठानेर हामी अघि बढ्न खोज्यौं । मनिषा भिडको पछाडी उभिराखेकि थिई , म जुत्ताको तुना खुस्केकोले वाँध्न भनेर निहुरिरहेको थिएँ । यही बेला अचानक र अप्रत्याशीत रुपमा भिडमा हलचल आयो । मैले  के भएको हो भनेर वुझ्नै पाएको थिइँन । भिडमा सवैले “भाग् , भाग् पुलिस आयो ” भनेर कराउँदै हडबडीमा गडडड भागेको देखें । मैले केही सोच्नै पाइँन, भिडको लयमा  म पनि अत्तालिएर दौडें । म हेर्दै छु, मनिषा पनि पछाडी हेर्दै मेरो पछि पछि दौडी । तर दुर्भाग्य, पछाडी हेर्दै दौडेकीले उसले आफ्नो अगाडीको बाटोमा के छ दृष्टि पुर्याउनै सकिन । छिटो दौडिने भएकोले म पर पुगिसकेको थिएँ । तर मैले पछाडी उसलाई हेर्दा हेर्दै ऊ बेग सँग आएर  बाटोको छेउमा लडिराखेको एउटा ठूलो ढुंगामा ठोक्किएर डङ्रङ्गै घोप्टो परेर  लडी । म दौडँदा दौडँदै थामिएँ , जहाँको त्यही उभिएँ र ऊ उठोस् भनेर पर्खि रहें । तर ऊ उठिन । भाग्ने  मान्छेहरु भागिसकेका  थिए, बाटो खाली थियो । प्रहरीहरु लखेट्दै आएकै थिएनन् भिड त्यसै आत्तिएर भागेको रै छ । मनिषा भने घोप्टो परेर लडेकि लड्यै देखिई ।

म झन् आत्तिएँ अब के गर्ने भनेर । डर, हैरानी , निराशा र अन्योलताले एकैपटक छोपिएर मलाई बहुलाउन  पाए पनि हुन्थ्यो नि जस्तो लाग्यो । तैपनि जसरी तसरी आफुलाई सम्हालेर म विस्तारै मनिषा भए तर्फ गएँ । नजिकैको घरमा भएकी एकजना महिलाले देखिछन् । म सँगसँगै उनीपनि त्यहाँ आइपुगिन । मनिषा वेहोश थिई । मेरो सुझबुझले केही काम गरि रहेको थिएन । विषम र कठिन परिस्थितिको भयंकर उचाइमा हिंडिरहेको थिए म । मन त्यसै कहालिइ रहेको थियो । म त लाटिएँ, त्यसै हराएँ । एकछिन पछि अरु मानिसहरु  पनि जम्मा भए । मनिषालाई  पानी छम्किए, ब्युँताउन कोशिश गरे, ऊ ब्युँझिन । मेरो मात्र सुझबुझले हो भने त यहाँ केही हुनेवाला थिएन, म त बाँदरको पुच्छर लौरो न हतियार जस्तो भएर अकमक्क परिरहेको थिएँ । तर धन्न अरु मानिसहरु नै सक्रिय भए, उनीहरुले नै गर्नु पर्ने सबै प्रयासहरु गरे । अन्तमा उनीहरुले नै मनिषालाई तुरुन्त अस्पताल पुर्‍याउनु पर्ने निर्णय गरे, उनीहरुले नै त्यसको लागि उपाय निकाले । एकजना मानिसले मोटरसाइकल लिएर आयो । अचेत मनिषालाई विचमा राखेर म पछाडी बसें र यसरी सबैको सहयोगमा उसलाई नजिकैको क्लिनिक पुर्‍याउन सम्भव भयो । उसलाई उपचार कक्षमा वेडमा सुताइयो, सलाइन दिइयो, डाकटरले अरु परीक्षणहरु गरे । म भने छट्पटिदै उपचार कक्षको बाहिर बसिरहें ।

लभग एकघण्टा पछि एउटी महिला मेरो छेउमा आई र सोधी “पेसेन्ट तपाईको श्रीमती हो ?” अप्रत्याशित रुपमा आएको यो प्रश्नले म अकमकाएँ र  विस्तारै भने “ हो “।

“ठिक छ , पेसेन्टको होस आइसक्यो ” । उसले भनी ।

म भित्र गएँ । कमजोर जस्ती देखिएकी मनिषाले सुती सुती भावसुन्य आँखाले मलाई हेरी । मैले केही बोल्न सकिंन ।

त्यहाँ बसिराखेको डाक्टरले मलाई भने , “सडेन फिजिकल ट्रमाले गर्दा अन्कन्सस  भाको हो । अब ठिक भइस्कयो । “

म केही बोलिन ।

डाक्टरले फेरी भने, “तपाईंको श्रीमती त सानै हुनुहुँदोरैछ, यती सानैमा बच्चा पायो भने आमा र बच्चा दुबैको जीवनमा खतरा हुन्छ भन्ने थाहा थिएन तपाईहरुलाई ? यसपटकको प्रेग्नेन्सी यही ट्रमाको कारणले मिस्क्यारिज भयो, इनिसिएल फेजमै भएकोले धेरै कम्प्लिकेशनहरु आएन , तर अब उप्रान्त विचार गर्नुहोला, कम्तिमा बीस बर्ष नपुगी वच्चा पाउन नखोज्नुहोला ।”

म फेरि पनि केही बोलिन ।

उपचार पश्चात् हरिपुर्वा हुँदै मोटरसाइकलमा नारायणपुर जान लागेको एउटा अपरिचित मान्छेलाई अनुरोध गरेर मैले मनिषालाई घर पुग्ने ब्यवस्था मिलाएँ । म बिस्तारै हिंड्दै गएँ । घर पुग्दा झमक्क साँझ परिसकेको थियो ।

‘यस्तो कोरोनाको महामारी फैलेको बेला कहाँ गएको, किन गएको, कतीसम्म गैरजिम्मेवार र लापरबाह हुन सकेको’ भनेर घरमा मेरो सातो खाइयो । चार चार दिनसम्म कसैलाई केही नवताइकन मर्यो कि बाँच्यो केही थाहा नहुने गरी बेपत्ता भएर सम्पूर्ण परिवारमा मैले थोपरेको पीर, चीन्ता, डर, अन्योलता आदिको कारण आमाले मलाई कती हो कती गालि गर्नुभो, रुनुभो ।  बुबाले त गालि गर्ने मात्र हैन दुई तीन झापड पनि हान्नु भो । म मामा माइजूको नजरबाट अलिकती गिरें, भेट भएको बेला लाजले भुतुक्क भएँ । तर जे जे भए पनि यतिखेर म छातीबाट पहाड पन्छाएर  हलुका भएको थिएँ, अपूर्व प्रफुल्लताले मन भरिएको थियो।   हैट् , बिशाल खुल्ला आकाशमा उन्मुक्त र बेलगाम उडान भरिरहेका मेरा युवा ईच्छा, आकांक्षा  र सपनाहरु झण्डै पो असमयमै गृहस्थीको लकडाउनमा परेका, गाँठे ! अहिले सरकारी उर्दिवाला लकडाउन जारी नै छ, म घरमै थुनिएरै बसेको छु । तर मेरो ब्यक्तिगत जीवनको लकडाउन म तोड्न सफल भएको छु । जीवनमा  कहिल्यै अनुभव नगरेको सुखले मेरो सम्पूर्ण अन्तर कुन्तर मखलेल छ ।

(केही समयअघि सर्लाही प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले लेखेको यो कथा प्रहरी द्वैमासिक पत्रिकाबाट साभार गरिएको हो ।)