सागरनाथ वन विकास परियोजनाको जग्गामा अतिक्रमण गरी बनाइएका ८० घरटहरा भत्काइयो

अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउँदै परियोजनाका कर्मचारी । तस्बिर : उज्यालो अभियान

बागमती – सागरनाथ वन बिकास परियोजनाले आफ्नो जग्गामा अवैध रुपमा बनाइएका ८० घर टहरा आइतवार दउँसो हटाएको छ ।

परियोजनाको स्वामित्वमा रहेको सर्लाहीको बागमती नगरपालिका वडा नम्वर–५ टेकानीस्थित सुकुम्बासीको नाममा हुकुम्वासीले जग्गा हडप्ने नियतले बनाइएका नयाँ घरटहरा भत्काएको हो । परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाइ वडा नं. ४ जिरायत र वडा नं. ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति भएको थियो ।

परियोजनाको सहमतीमा बागमती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्वासी परिवारलाइ १८ धुरको दरले घडेरी बितरण गरेको थियो । सो क्षेत्रमा हाल ३ सय सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन् । परियोजनाले उक्त क्षेत्रको खाली जमिनमा गत बर्ष साउनमा बनाइएको घर छाडेर तारवार गरी मसला, टिक र अमलाको बिरुवा रापेको सागरनाथ वन विकास परियोजनाका प्रमुख जितेन्द्र कर्माचार्यले जानकारी दिए ।

व्यवस्थिति रुपमा राखेपछि पनि विरुवा रोपेको जमिनमा समेत केही दिन यता स्थानियले आफूखुशी वनको जमिन अतिक्रमण गरि घर बनाउने र बालीनाली लगाउने गरिरहेका थिए । यसरी बनको जग्गा ब्यापक रुपमा अतिक्रमणमा परेपछि आफ्नो स्वामित्वमा रहेको जमिन कब्जामा लिइ घरटहरा भत्काउनु परेको प्रमुख कर्माचार्यले बताए ।

जनप्रतिनिधिको मिलेमतोमा रातारात अन्यत्र घरजग्गा भएकाहरुले जग्गा ओगट्ने नियतले घरटहरा बनाउने तर बसोवास नगरेको भन्ने सूचनाको आधारमा भर्खरै बनेका घरटहरा भत्काइ जमिन खाली गरिएको हो । उक्त खाली गरिएको जमिनमा चाँडै बृक्षारोपण गरिने परियोजना प्रमुख कर्मचार्यले बताए । तर आफ्नो स्वार्थ पुरा गर्न केही राजनितिक दलका नेता कार्यकर्ताले पटक पटक बस्ति बसाउने बहानामा आफुखुशी जग्गा बितरण गरि घरटहरा बनाउन लगाएको स्थानियहरु बताउँछन ।

यसरी जग्गा बितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार छान्नुका साथै कतिपयसँग पैसा लिएर जग्गा दिने गरेको बागमती नगरपालिका ५ का एक स्थानियले गुनासो गरे । बागमती नगरपालिका–५, का वडाध्यक्ष कृष्णबहादुर वाईवाले सुकुम्वासीलाइ जग्गा बितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र बास्तविक सुकुम्बासी पहिचान गरि प्रत्येक घरपरिवारलाइ १८ धुर जग्गा बितरण गरिएको दावी गरे । सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ हजार ५ सय १२ हेक्टर क्षेत्रफल रहेको छ ।