बोलबमका भारतीय श्रद्धालुहरु नआउँदा हाइवेमा ट्राफिक व्यवस्थापन सहज

हरिवन – हरेक साल साउन महिनाभर श्रद्धालुको अत्यधिक चाप हुने सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा यस वर्ष भीडभाड छैन् ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीमा जल लिन आउने भारतीयहरुले गर्दा पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलङ्गवा सडकमा थेगी नसक्नु भीड हुन्थ्यो । तर यस वर्ष अहिले सीमा नाका बन्द रहेकाले भारतीयहरु जल लिन बाग्मती आउन नपाएका हुन् । जिल्लाभित्रैका वाषिन्दा भने थोरै संख्यामा देखा पर्न थालेका छन् ।

नवलपुर–मलंगवा सडक हुँदै दक्षिणी भेगहरुबाट जल लिनका लागि जिल्लाकै बोलबमका श्रद्धालुहरु बाग्मतीमा देखा पर्न थालेका हुन् । यसैगरी महोत्तरीको टुटेश्वरनाथ मन्दिरमा मेला नलाग्ने भएकाले बोलबमका श्रद्धालुहरु ठूलो संख्यामा देखिएका छैनन् । केही श्रद्धालुहरु भने मोटरसाइकल हुँदै पूर्वतर्फ लागिरहेका छन् ।

अघिल्ला वर्षहरुमा साउन महिनाभर राजमार्गमा मानिसको भीड व्यवस्थापन गर्न सर्लाही र महोत्तरी प्रहरीलाई हम्महम्मे नै पर्ने गरेको थियो । पैदल, मोटरसाइकल, ट्याक्टर जस्ता सवारीमा सयौँको सङ्ख्यामा मानिसहरु हिँड्दा थुपै्र दुर्घटना समेत हुने गरेका थिए ।

सर्लाहीको बाग्मती क्षेत्रमा बोलबमका श्रद्धालुको भीडले राजमार्गमा सवारी आवागमन प्रभावित हुन नदिन र जल निकाल्ने क्षेत्रमा अप्रिय घटना हुन नपावस् भनेर प्रहरी परिचालन गर्नुपथ्र्यो । यो वर्ष त्यस किसिमको तनाव नरहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले बताए ।