वडाध्यक्षमाथि कुटपीट, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ

1

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका वडाध्यक्ष धर्मराज सिंह महतोमाथि कुटपीट भएको छ ।

वडाध्यक्ष महतोलाई बिहिवार साँझ गाउँमै एक समूहले कुटपीट गरी घाईते बनाएको हो । उहाँलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि सुक्रवार बिहान सुमेरु अस्पताल धापाखेल, ललितपुर पु¥याइएको परिवारका सदस्यले बताएका छन् ।

भाटा र लठ्ठीले आक्रमण गर्दा वडाध्यक्ष महतोको हात, छाती लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । सो घटनाका सम्वन्धमा अनुसन्धान गर्न प्रहरीले धनकौल पूर्वारी नै घर भएका हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उनका भाई लालबाबु राय यादव र स्थानीय शैलेन्द्र राय यादवलाई नियन्त्रणमा लिएको छ ।

लालबाबु र शैलेन्द्रलाई घटना लगत्तै प्रहरीले बिहिवार राती नै पक्राउ गरेको थियो भने प्रमुख प्रशासकीय अधिकृत यादवलाई सुक्रवार बिहान पक्राउ गरी सोधपुछका लागि भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवा लगिएको हो ।

केही दिनअघि गाउँमा लागेको अषाढी मेलामा वडाध्यक्ष महतोको नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय नजिकका युवकहरुले जिस्काएको निहुँमा विवाद हुँदै आएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपीट भएको हुन सक्ने आशङ्का गरिएको छ ।

वडाध्यक्ष महतोका दाईले प्रमुख प्रशासकीय अधिकृत यादवसहित चार जना विरुद्ध ज्यान मार्ने उद्योगमा सुक्रवार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ ।