झरीले दुई घर भत्किए

2
२०७७ साउन अन्तिम साता परेको अविरल वर्षाले सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गत भाँडसरमा डुबानमा परेको घरहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – वर्षे पानीको डुबानले सर्लाहीको हरिपूर्वा र चन्द्रनगरमा दुईवटा घर भत्किएका छन् ।

हरिपूर्वा नगरपालिका–१, का रामवृक्ष राय र चन्द्रनगर गाउँपालिका–४, मुस्लिम टोलका नौसाद मुकेरीको कच्ची घर वर्षाको पानीले भत्किएको हो । घर भत्किँदा रायको दुई लाख रुपैयाँ र मुकेरीको ७५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । घरमा एक जना मात्रै रहेका रामवृक्ष राय आफन्तको घरमा शरण लिएर बसेका छन् भने नौसाद लहेरीको सात जनाको परिवार आफ्नै अर्को घरमा बसिरहेको छ ।

गत आइतवारदेखि सुरु भएको वर्षाका कारण सर्लाहीमा विहिबारसम्म अति विपन्न परिवारको एक दर्जन बढीे कच्ची घरहरु भत्किसकेका छन् । प्रभावितहरुले कतैबाट राहत पाउन सकेका छैनन् । घर भत्किँदा अन्न, कपडा, भाँडा लगायत सरसामान पनि नष्ट भएको पीडितहरुले बताएका छन् । यस्तै दर्के झरी पर्ने क्रम कम हुँदै गएपछि जिल्लामा डुबानको समस्या घट्दै गएको छ ।