कृषि कार्यक्रमको परियोजना समन्वय समिति गठन

6
नवगठित परियोजना समन्वय समितिका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – हाम्रो कृषि सहकारी संस्था लिमिटेडद्धारा संचालित हाम्रो कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि परियोजना समन्वय समिती गठन गरिएको छ ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको संयोजकत्वमा बुधबार ९ सदस्य समिती गठन गरिएको कार्यक्रम आयोजक हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तीलकबहादुर खड्काले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार सिता प्यालेस होटलको सभाहलमा भएको कार्यक्रमले समितिको सदस्यहरुमा सर्लाही बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, महोत्तरी बर्दिवास नगरपालिकाकी उपमेयर कृष्णामाया गौतम, घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ता, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादव, हाम्रो कृषि सहकारी संस्थाकी उपाध्यक्ष धन कुमारी खड्का, सल्लाहकार राम बहादुर दाहाल र स्वावलम्वन बजार व्यवस्थापन तथा रोजगार सृजना केन्द्रका कार्यकारी निर्देशक केशव राज थापा रहेका छन् ।

कार्यक्रममा बोल्दै समितिका संयोजक गणेश प्रसाद प्रसाईले स्थानीय तहहरुबाट कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको र उक्त बजेट दोहोरोपन नहुने गरि किसानको हितमा खर्च गर्नुपर्ने बताए । कृषी ऋणको दुरुपयोग भईरहेकाले अव देखि वित्तिय संस्थाले कृषि क्षेत्रमा ऋण लगानी गर्दा नगरपालिकाको सिफारिस विना ऋण लगानी नगर्न हरिवन नगरपालिकाले वित्तिय संस्थाहरुलाई परिपत्र गरेकाले बास्तविक किसानहरु लाभान्वित हुने उनको जिकिर थियो । हाम्रो कृषी कार्यक्रमबाट वास्तविक किसानहरु लाभान्वित हुने गरी कार्यन्वयनमा जानुपर्नेमा मेयर प्रसाईंले जोड दिए ।

बागमति नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले सिंचाई नभएको ठाउँमा बेमौसमी तरकारी खेतिको तालिम संचालन गर्दा पानीको लागि समरसेबुल पम्प लगाएतका ब्यबस्था पनि मिलाउनु पर्ने सुझाव दिईन् । त्यसैगरी कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले बेमौसमी तरकारी खेति तालिम गर्दै गर्दा विषादी तथा रसायनिक मलको प्रयोग कम गर्ने उपायहरु अवलम्वन गर्न सुझाव दिए ।

हाम्रो कृृषि सहकारी संस्थाका अध्यक्ष तिलक बहादुर खड्काले अध्यक्षता गरेको कार्यक्रममा स्वावलम्वलन बजार व्यवस्थापन तथा रोजगार सृजना केन्द्रका कार्यकारी निर्देशक केशव राज थापाले स्वागत गरेका थिए । हाम्रो कृषि कार्यक्रमकी संचार तथा डकुमेन्टेसन अधिकृत पुजा कार्कीले सञ्चालन गरेको कार्यक्रममा टिम लिडर दिपेन्द्र चौधरीले परियोजनाको बारेमा जानकारी गराएका थिए ।

हाम्रो कृषि कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिश काउन्सिलद्वारा व्यवस्थापन गरिएको दक्षता परियोजना अन्तर्गतको एक कार्यक्रम हो । यो कार्यक्रम हाम्रो कृषि सहकारी संस्था लिमिटेडको नेतृत्वमा स्वाबलम्बन बजार व्यवस्थापन तथा रोजगार सिर्जना केन्द्र प्रालि, शलोम एग्रिकल्चर प्रालि र मिलन डेरी एण्ड फुड ईन्डस्ट्री प्रालि बिचको साझेदारीमा संचालनरत छ ।

निजी क्षेत्रसँगको साझेदारीमा सीटीईभीटी प्रणालीमा आधारित बजारको सान्दर्भिकता अनुरुप व्यवसायिक कृषि पेशामा ग्रामीण युवाहरुको रोजगारी बढाउनु नै परियोजनाको मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत कार्यक्षेत्रमा आधारित प्रशिक्षार्थी तालिम कार्यक्रमहरु समेत संचालन हुनेछन् । हाम्रो कृषि कार्यक्रमको कार्यक्षेत्र भने सर्लाही र महोत्तरी जिल्ला रहेको सहकारी संस्थाका अध्यक्ष खड्काले जानकारी दिए ।