किसान नेता बुढाथोकीको निधन

5
बेदबहादुर बुढाथोकी

हरिवन – उखु किसानको पक्षमा लामो समयदेखि संघर्षरत मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष बेदबहादुर बुढाथोकीको निधन भएको छ ।

हरिवन नगरपालिका–११, निवासी ७२ वर्षीय बुढाथोकीको उपचारका क्रममा बुधबार राती वीरगञ्जस्थित बयोधा अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा अचानक असहजता महसुुस भएपछि उनी आफै मंगलबार नमूना अस्पताल हरिवन पुगेको पारिवारिक स्रोतले जनाएको छ । उनलाई नमूनाले प्राथमिक उपचार गरी बयोधा रेफर गरेको थियो । बुढाथोकीको शव वीरगञ्जबाट सर्लाही ल्याई बुधबार दिउँसो बाग्मती नदी किनारमा अन्येष्टि गरिएको छ ।

मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष समेत रहेका बुढाथोकी नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघ सर्लाहीका समेत अध्यक्ष हुन् । बुढाथोकीले उखुको मूल्य निर्धारण, किसानलाई भुक्तानि दिलाउने लगायत काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका थिए । बुढाथोकीको सम्मानमा जुटपानीस्थित रणशेर गण पाँचकुमारी ब्यारेकबाट गएको एक टुकडीले सलामी अर्पण समेत गरेको छ ।

राप्रपाका नेता समेत रहेका बुढाथोकी २०५४ सालको स्थानीय निकायको निर्वाचन अन्तर्गत हरिवन बजार क्षेत्र पर्ने तत्कालिन हरिवन–९ मा सोही पार्टीबाट वडाध्यक्षमा समेत निर्वाचित भएका थिए । केही वर्ष पहिला तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका बुढाथोकी २०७४ सालको स्थानीय तहको निर्वाचन अन्तर्गत हरिवन–११ मा एमालेबाट वडाध्यक्षको टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । पछि उनी फेरि राप्रपामै प्रवेश गरेर सकृय हुने गरेको राप्रपाका नेताहरुले दाबी गर्दै आएका छन् ।