डुबानमा परेको मलंगवा नगरपालिकाका भाँडसर र खुटौनामा हिजो देखिएको दृष्य (फोटो फिचर)

6

मलंगवा – भारतीय सीमावर्ती क्षेत्रस्थित सदरमुकाम मलंगवा नगरपालिका–५, भाँडसरका २९ घर आइतवारदेखि डुबानमा परिरहेको छ ।

लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा त्यहाँका २९ घर डुबानमा परेको हो । पीडितहरु डुबानमै परेको घरमा बसिरहेका छन् । कच्ची घर भएकाहरु भने छिमेकीकोमा शरण लिएर बसेका छन् । त्यहाँको स्वास्थ्य चौकी र विद्यालय नै डुबानमा परेको छ । तीन दिनदेखिको डुबानले घरभित्रको अन्न लगायत अन्य सरसमान नष्ट हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

डुबानमा परेको भाँडसर गाउँको मंगलवार दिउँसो मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, नेपाली सेनाका प्रमुख सेनानी सुरज राउत, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दिलिप सिंह, जिल्ला रेडक्रसका सभापति नागेन्द्र कुमार चौधरी लगायतले निरीक्षण गरे । डुबानका कारण पैदल हिँड्ने अवस्था नरहेपछि उनीहरुले डुंगा (बोट)मा चढेर निरीक्षण गरेका हुन् ।

निरीक्षण पश्चात पीडितहरुलाई तत्कालका लागि एक थान त्रिपाल प्रदान गरिएको छ । भाँडसरका स्थानीयले बर्षेनी लखन्देही नदीको बाढी पस्दा डुबानको समस्या झेल्दै आएका छन् । उनीहरुले आफूहरुलाई तत्कालको राहत भन्दा पनि दीर्घकालिन समस्या समाधानका लागि तटबन्धको माग गरेका छन् ।

जिल्लाका अन्य स्थानमा समेत छिटफुट घरहरु केही समय डुबानमा परेपनि भाँडसर र खुटौनाका घरहरु भने तिनदिनदेखि निरन्तर डुबानमा परिरहेको थियो ।
(तस्बिरहरु : अच्युतकुमार सापकोटा/रोशनकुमार न्यौपाने/जनार्जन खत्री)