सर्लाहीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका, बरहथवामा २३ जना नयाँ संक्रमित थपिए

बरहथवा – सर्लाहीमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको आशंका गरिएको छ ।

जिल्लाको पश्चिमी भेगमा पर्ने बरहथवामा आइतवार एकै दिन थपिएका २३ जना नयाँ संक्रमितमध्ये एक जना वडाध्यक्षका परिवारका सदस्य, बैंकका दुई कर्मचारी, मूर्तिया र हजरिया निवासी नागरिकहरु रहेका छन् । घरगाउँमा रहेकाहरुमा कोरोना संक्रमण पाइएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार आज बरहथवाका २४ जनाको थ्रोट स्वाब रिपोर्ट पोजिटिभ आएको र त्यसमध्ये एक जना पुरानै संक्रमितको दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको हो । एकैपटक २३ जना नयाँ संक्रमित थपिएपछि उनीहरुको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी जिसी आफै अहिले बरहथवामा छन् ।

बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले घरमै रहेकाहरुमा समेत संक्रमण पाइएकाले समुदायमै संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको बताए । उनले आइतवार थपिएका संक्रमितलाई बेग्लै आइसोलेटेड गरेर राखिने जानकारी दिए ।

केही दिनअघि पोजिटिभ रिपोर्ट आएका वडाध्यक्षको दोस्रो परीक्षण रिपोर्ट भने नेगेटिभ आएको मेयर महतोले बताए । केही हप्ता अघिसम्म दैनिकी संक्रमित थपिने सर्लाहीमा धेरै दिनपछि आज पुनः २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

आइतवार थपिएका समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६९० पुगेको छ । पछिल्ला दिनमा जिल्लामा कोरोना परीक्षणको दायर कम हुँदै गएको छ । परीक्षण कम हुनुका साथै कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले जारी गरेको निर्देशन उल्लंघन गरी लापरवाही गर्ने क्रम बढेको छ ।