भारी वर्षाले सर्लाही सदरमुकाम मलंगवासहित विभिन्न ठाउँ जलमग्न

2
बरहथवा बजार क्षेत्रमा जमेको पानी । तस्बिर सौजन्य : भाग्यनारायण गुप्ताको फेसबुकबाट

मलंगवा – आइतवार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलंगवासहित विभिन्न ठाउँ जलमग्न बनेको छ ।

पानीको निकास नहुँदा सदरमुकाम मलंगवाकै दर्जनौँ निजी घर र केही सरकारी कार्यालयहरु डुबानमा परेका छन् । मलंगवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारी अजय कुशवाहाले जानकारी दिए । उनका अनुसार बाल मन्दिर चौकमा घुँडासम्म पानी जमेको छ ।

निरन्तर वर्षा भइरहँदा जिल्लाको दक्षिणी भेगका विभिन्न बस्तीका घरहरुमा पनि पानी पसेको छ । भारी वर्षा हुँदा विपन्न, सुकुम्वासी र पिछडिएको दतिल परिवार प्रभावित भएका छन् । जिल्लाको बाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिम लगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमिन कटान गरेको किसानहरुले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गहिरो स्थानमा रहेका र निकास नरहेका ठाउँहरुमा पानी जमेपनि जनधनको क्षति कतै नभएको बताए । आइतवारकै हिसाबमा पानी परिरहे अब भने डुबानको समस्या बढ्न सक्ने प्रजिअ जिसीको भनाई छ ।

मौसमविद्ले मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोवास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकहरु हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ ।

उता सर्लाहीको कर्णाली मानिने नारायणखोलामा आइतवार बिहानैदेखि आवातजावत ठप्प छ । लालबन्दी बजारसम्म आउने एकै मात्रै मार्ग लखन्देही खोलामा ठूलो बाढी आएकाले मानिसको ओहोरदोहोर रोकिएको हाम्रा संवाददाता रोशन दोङले जनाएका छन् ।