समाचार प्रभाव : बरहथवामा भइरहेको अनियन्त्रित उत्खनन रोकियो, उत्खननका क्रममा बनेको गहिरो पोखरीमा डुबेर एकको मृत्यु

3
हीरापुर ब्यारेजदेखि उत्तरतर्फ केही दिनअघि उज्यालो अभियानको टोली पुग्दा एक्साभेटर प्रयोग गरी भइरहेको उत्खनन । तस्बिर : उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा भइरहेको अनियन्त्रित उत्खनन रोकिएको छ ।

हीरापुर ब्यारेजदेखि उत्तरतर्फ निजी जग्गामा अत्यन्त गहिरो पोखरी बनाई गिट्टी निकाल्दा बस्ती नै जोखिममा परेको थियो । त्यसबारेमा उज्यालो अभियान अनलाईनले दुई दिनअघि मात्रै समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन पश्चात प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसहित सुरक्षा अधिकारीहरुको टोलीले उत्खनन भइरहेको क्षेत्रको निरीक्षण गरेको थियो । प्रमुख जिल्ला अधिकारी जिसीले कसैलाई प्रभाव पर्ने गरी निजी जग्गा समेत उत्खनन गर्न नपाइने बताए ।

स्थानीय नवराज राईका अनुसार हिजो (बिहिवार) बाट एक्साभेटर प्रयोग नभएको र गिट्टी ओसार्न ट्याक्टर पनि आएका छैनन् । दैनिक सयौँ ट्याक्टरले गिट्टी ओसार्दा उत्खनन स्थलदेखि हीरापुर ब्यारेजसम्मको सडक छियाछिया हुँदा हिँड्डुलमै समस्या भइरहेको छ । खोला छेउमै दुई दिनअघिसम्म भएको अनियन्त्रित उत्खनन पुनः हुन नदिन र बिग्रिएको सडक मर्मत गर्न स्थानीय वासिन्दाले माग गरेका छन् ।

यसैबीच हीरापुरमा अनियन्त्रित ढंगले गिट्टी निकाल्न खनिएको पोखरीमा डुबेर बिहिवार दिउँसो एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका ८, टाँडीका रामबली महतोको जग्गामा खनिएको पोखरीमा डुबेर कौडेना गाउँपालिका १, का ३२ वर्षीय श्रर्वन्थ मुखियाको मृत्यु भएको हो । माछा मार्ने क्रममा मुखियाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।