आपराधिक घटनामा सत्तापक्ष र विपक्षीको राजनीति, नेकपाद्धारा मलंगवामा प्रदर्शन

3

मलंगवा – प्राय : किचलो भइरहने सर्लाहीको ४ नंं. निर्वाचन क्षेत्रमा पर्ने रामनगर र धनकौल घटनालाई लिएर सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांंग्रेसले प्रदर्शन गर्ने क्रम रोकिएको छैन् ।

दुवै घटनामा प्रहरीको तर्फबाट अनुसन्धान जारी रहँदा राजनीतिक दबाब सिर्जना गर्ने गरी एकपछि अर्को दलद्वारा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । झण्डै एक महिनाअघि रामनगर गाउँपालिकामा नेकपाका कार्यकर्ता रामजल यादवको हत्या भएको थियो भने करिव तीन साताअघि धनकौल गाउँपालिकामा नेकपा र कांंग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

रामनगर घटनापछि नेकपाले कांंग्रेस र कांंग्रेसले नेकपालाई दोष लगाउँदै एक अर्काविरुद्ध प्रदर्शन गर्ने क्रम चलिरहेको छ । सोही क्रममा नेकपाले बिहिवार सदरमुकाम मलंगवामा रामनगर र धनकौल दुवै घटनाका दोषी पहिचान गरी कारवाही अघि बढाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी ४ नम्बर क्षेत्रकाे ब्यानरमा भएको विरोध प्रदर्शन कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला सचिव कमल बुढाथोकी, क्षेत्र नं. ४ का नेता एवं पूर्व सांसद शिवपुजन राय, पूर्व सभासद हरि उप्रेेेती, राजकुमार यादव, फकिरा महतो, संजिव सिंह लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति थियो । नेकपाले रामनगरमा आफ्ना कार्यकर्ताको कांंग्रेसबाट निर्वाचित वडाध्यक्षको संलग्नतामा हत्या गरिएको आरोप लगाउँदै आएको छ भने कांंग्रेसले घटनामा संलग्न नरहेका वडाध्यक्षलाई राजनीतिक दबाबका आधारमा पक्राउ गरी मुद्दा चलाइएको दावी गर्दै आएको छ ।

यसैगरी धनकौलमा रामनगर घटनाको विषयमा ¥याली निकाल्दा कांंग्रेस कार्यकर्ताले अवरोध गरी झडप गराएको र त्यसमा गाउँपालिका अध्यक्ष रामआश्रय साह एवं प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको प्रत्यक्ष उपस्थिति रहेको नेकपाले दावी गर्दै आएको छ । तर कांंग्रेसले भने आफ्ना कार्यकर्तामाथि नेकपाको तर्फबाट आक्रमण भएको र गाउँपालिका अध्यक्ष एवं प्रदेश सभा सदस्यको कुनै सहभागिता नरहेको दावी छाडेको छैन् ।

नेकपाका नेताहरुको एक समूहले यस घटनाको सम्वन्धमा संघीय गृहमन्त्री रामबहादुर थापालाई भेटेरै प्रहरी प्रशासनमाथि राजनीतिक दबाब सिर्जना गराउने प्रयास गरिसकेका छन् भने कांंग्रेसका नेताहरुले पनि शीर्षस्त नेताहरुसँग भेट गर्नेदेखि २ नं. प्रदेश प्रहरी प्रमुखलाई भेटेर राजनीतिक दबाबमा नपरी घटनाको छानबिन गर्न माग गरेका छन् । यसबिचमा दुवै पार्टीले प्रेेस विज्ञप्ती निकालेर एक अर्काविरुद्ध कडा रुपमा आरोपप्रत्यारोप समेत गर्न भ्याएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार रामनगर घटनामा त्यहाँका वडाध्यक्ष तथा धनकौल घटनामा दुई जना व्यक्ति पक्राउ परेका छन् । धनकौल झडपमा प्रयोग भएको आशंकामा प्रहरीले ४ थान हतियार समेत बरामद गरेर अनुसन्धान गरिरहेको छ ।