वर्षायाम सुरु भएसँगै नारायणखोलावासीको दैनिकी कष्टकर, अस्पताल आउन समेत समस्या

फाइल तस्बिर : बाढीमा हेलिएर खोला तर्दै गरेका नारायणखोलाका स्थानीय वासिन्दा

लालबन्दी – सर्लाहीको कर्णाली भनेर चिनिने नारायणखोलावासीको दैनिकी बर्षा लागेसँगै कष्टकर बनेको छ ।

सडक नपुगेको सर्लाहीको साबिकको एकमात्रै गाविस नारायणखोला अर्थात अहिलेको लालबन्दी नगरपालिका–१४, मा खोलामा दैनिक बाँढी आउँदा स्थानीय वासिन्दा समस्यामा परेका हुन् । त्यहाँका कोही बिरामी परे खोलामा हेलिएर झोलुङ्गोमा हालेर लालबन्दीका अस्पतालसम्म ल्याउने गरिएको छ ।

यस्तै खोलामा बाढी आएर ट्याक्टर लगायतका मालबाहक गाडी चल्न नसक्दा खाद्यान्नको अभाव भएको सिन्धुलीको सीमा नजिक पर्ने नारायणखोला डाईनीशीरकी सबिना दोङले गुनासो गरिन् । नारायणखोलामा अब हिउँद लागेपछि मात्रै गाडी चल्छ । निरन्तरको लकडाउनले तीन महिना गाडी चलाउन नपाएको र अहिले बाढी आएर खोलाको बाटो सबै बिगारेको लालबन्दी–मरिण यातायात प्रालिका अध्यक्ष छेनामसिंह घिसिङले बताए ।

जिल्लाको अन्य ठाउँमा पानी पर्न कम भएपनि चुरेभेगमा पर्ने नारायणखोलासहित जिल्लाको उत्तरी भेगमा दिनहुँजसो पानी परिरहेको छ । वर्षायाम सुरु भएपछि नारायणखोला क्षेत्रमा विद्युत अवरुद्ध हुनुका साथै राम्रोसँग घाम नलाग्दा सोलार चार्ज हुन नपाएको नारायणखोलाबाट हाम्रा संवाददाता रोशन दोङले जनाएका छन् ।

यता पानी पर्न कम भएपछि जिल्लाका अन्य ठाउँहरुमा भने डुबान तथा कटानको समस्या घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।