सर्लाहीका विभिन्न नदी तथा खोलाहरुमा बाढी, तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह

3
सर्लाहीको हजरियास्थित खर्सालघाटमा बाग्मती नदीले कटान गरेको बाँध । तस्बिर : घनश्याम बलम्पाकी

मलंगवा – सर्लाहीका नदी तथा खोलाहरुमा अहिले बाढी आइरहेको छ । राती परेको पानीले नदी र खोलाहरुमा पानीको बहाव बढेको हो ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीसहित लखन्देही, फूल्जोर, बाँके लगायतका खोलाहरुमा बाढी आइरहेको छ । बाग्मती नदीले बरहथवा नगरपालिका १ स्थित खर्सालघाटमा केही दिनदेखि बाँध भत्काएर खेतीयोग्य जमिन कटान गरिरहेको छ भने लखन्देही नदी बस्तीमा पस्दा सदरमुकाम मलंगवा नगरपालिकाको भाडसर गाउँका केही घर डुबानमा परेका छन् ।

पानी केही समय रोकिने अनि फेरी पर्ने गरिरहेकाले नदी तथा खोलाहरुमा निरन्तर रुपमा पानीको बहाव भने बढ्न पाएको छैन् । तर पनि पानी पर्ने क्रम जारी नै रहेकाले नदी तटिय क्षेत्रका वासिन्दालाई सचेत रहन र बाढी आएको बेला माछा मार्ने, दाउरा खोज्ने जस्ता कामका लागि भेल बाढीमा नपस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । सर्लाहीमा गत वर्ष जस्तो यस वर्ष सोमवार बिहानसम्म ठूलो किसिमको डुबान तथा कटानको समस्या देखिएको छैन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले केही ठाउँमा कच्ची घर भत्किने, पानीको निकास नरहेका केही ठाउँमा डुबानको समस्या रहेको बाहेक उद्धारमै गर्नुेपर्ने किसिमको अवस्था जिल्लामा नरहेको बताए । बाढी आउँदा खोलामा पुल नभएका ठाउँका स्थानीय वासिन्दालाई खोला वारपार गर्न तथा चुरेभेगका वासिन्दालाई बजार र अस्पताल सम्म आउजाउ गर्न समस्या भइरहेको छ ।

यस्तै जिल्लाको दक्षिणी भेगमा पर्ने बलरा, रामनगर, धनकौल लगायत क्षेत्रका वासिन्दालाई बाग्मती पारी रौतहटतर्फ रहेको खेत र रौतहटका वासिन्दालाई सर्लाहीतर्फ रहेको खेतबारीमा काम गर्न आउन समस्या भएको छ । बाग्मतीमा बाढी आइरहँदा स्थानीयहरु परम्परागत काठको डुंगा प्रयोग गरी जोखिमपूर्ण किसिमले नदी तर्न बाध्य भइरहेका छन् ।