भानु जयन्तिको अवसरमा सर्लाही साहित्य समाजको भवन शिलान्यास

7
लालबन्दी नगरपालिका ४ हरिभवनमा सर्लाही साहित्य समाजको भवन शिलान्यास गरिँदै । तस्बिर : मनोज बखे्रलको फेसबुकबाट

लालबन्दी – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ति सोमवार सर्लाहीमा पनि मनाइएको छ ।

लालबन्दी नगरपालिका–४, स्थित शिशुकल्याण जनता माध्यमिक विद्यालय हरिभवनको प्राङ्गणमा जिल्लाका साहित्यमा चासो राख्ने व्यक्तिहरुको उपस्थितिमा विभिन्न सिर्जनाहरुको वाचन गर्दै आदिकवि आचार्यको सम्झना गरिएको हो । भानु जयन्तिकै अवसरमा हरिभवनमै सोमवार सर्लाही साहित्य समाजको भवन शिलान्यास गरिएको छ ।

संस्थाकी उपाध्यक्ष राजेश्वर काफ्ले र उहाँका श्रीमान शिवप्रसाद काफ्लेले निःशुल्क उपलब्ध गराएका १० धुर जग्गामा भवनको शिलान्यास गरिएको हो । प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता एवं लालबन्दी नगरपालिका–४, का वडाध्यक्ष सोमनाथ बरालको विशिष्ठ आतिथ्यतामा भवनको शिलान्यास गरिएको संस्थाका सह–सचिव मनोज बखे्रलले जानकारी दिए ।

१८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ । उनले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उनको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ ।