बस व्यवसायीलाई दोहोरो चिन्ता : घामपानीले बस सढ्दै, बैंकको ऋण बढ्दै

6

नवलपुर – लकडाउनले गर्दा लामो समय बस चलाउन नपाउँदा दोहोरो मारमा परेको सर्लाहीका सार्वजनिक बस व्यवसायीहरुले गुनासो गरेका छन् ।

कमाई नहुँदा एकातर्फ किस्ता तिर्न नसकेर ऋण थपिँदै गएको र अर्कोतर्फ लामो समय पार्किङ गरेर राख्दा बसका पाटपूर्जा बिग्रिन थालेका व्यवसायीको गुनासो छ । नवलपुर निवासी बस व्यवसायी दीपक श्रेष्ठले आफूहरु यतिबेला दोहोरो मारमा परेको गुनासो गरे । घर जग्गा धितो राखेर निकालिएको गाडी लकडाउनले गर्दा तीन महिना भन्दा बढी समय थन्काएर राख्नु पर्दा ठूलो नोक्सान व्यहोर्नु परेको उनको भनाई छ ।

धेरै व्यवसायीले आफूसँग भएको ३० प्रतिसत रकममा ७० प्रतिसत ऋण राखी गाडी निकालेका हुन्छन् । त्यसरी किनेको गाडी चलाएर आम्दानी गर्न नपाउँदा अहिले त्यस्ता व्यवसायी चिन्तित बनेका हुन् । सरकारको नियम अनुसार कम्पनि समेत दर्ता गरी खरिद गरिएका बसहरु लामो समय थन्काएर राख्दा इन्जिनमा खिया लाग्ने, बडीमा लेउ लाग्ने र घाम पानीले टायर सढ्न थालेको व्यवसायी श्रेष्ठले बताए ।

सरकारले सार्वजनिक बस चलाउन आग्रह गरेपनि सर्लाहीसहित देशभरका व्यवसायीले ब्याजदरमा छुट लगायतको माग राख्दै बस चलाएका छैनन् । बस व्यवसायी संघ सर्लाहीका अध्यक्ष शिवशंकर रायले केन्द्रीय महासंघले राखेको माग पूरा नभएसम्म जिल्लामा पनि बस नचलाउने निर्णय भएको बताए । लामो समय लकडाउन हुँदा व्यवसायीसँगै बसमा काम गर्ने चालक, सहचालक र अन्य मजदुर पनि प्रभावित भएका जानकारी दिए ।