धनकौल घटनामा अनुसन्धान जारी, सांसद सिंहको घरमा राखिएको इजाजत प्राप्त हतियार प्रहरीको नियन्त्रणमा

5
झडपमा घाईते भएकाहरु । तस्बिर : उज्यालो अभियान

धनकौल – सर्लाहीको धनकौलमा दुई साताअघि भएको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यही असार १४ गते साँझ धनकौल गाउँपालिका–३, मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँगे्रसका कार्यकर्ताबीच दोहोरो झडप भएको थियो । झडपमा गोली चल्दा एक दर्जन भन्दा बढी मानिस घाईते भएका थिए । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका छोटेलाल सहनी र मुकेश कुमार साह प्रहरी हिरासतमा छन् ।

सो घटनापछि प्रहरीले धनकौलबाट ४ थान हतियार बरामद गरेको छ । आइतवार मात्रै प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको घरबाट १२ बोरको एक थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रशासनको ईजाजत लिएर राखिएको सो बन्दुक १४ गतेको घटनामा प्रयोग भएको छ की ? भन्ने आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले बताए ।

धनकौल घटना हुनुमा नेकपा र काँगे्रसले एक अर्कालाई दोषी देखाइरहेका छन् । नेकपा सर्लाहीका नेताहरुको एक समूहले गृहमन्त्री रामबहादुर थापा बादल लगायतलाई भेटेरै धनकौल घटना प्रदेश सभा सदस्य वीरेन्द्र सिंह र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहकै प्रत्यक्ष उपस्थितिमा भएको आरोप लगाउँदै उहाँहरु माथि कारवाहीको माग राखेको थियो ।

नेपाली काँगे्रस सर्लाहीले भने सत्ताको आडमा आफ्नो पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष लगायत अन्य कार्यकर्तालाई फसाउन लागिएको दावी गर्दै आएको छ । अहिले आफ्ना नेता कार्यकर्तालाई मुद्दामामलाबाट जोगाउन नेकपा र काँगे्रसका नेताहरु सक्रिय भएका छन् ।