१ लाख रुपैयाँ घरभाडा छुट दिने पत्रकार न्यौपाने सम्मानित

नवलपुर – व्यापारीहरुको पिरमर्कालाई बुझेर घरभाडा छुट दिएको भन्दै उद्योग वाणिज्य संघ लालबन्दीले पत्रकार रोशन न्यौपानेलाई सम्मान गरेको छ ।

न्यौपानेले लालबन्दी नगरपालिका–१, नवलपुर चोकमा रहेको घरको ४५ दिनको घरभाडा बापत हुन आउने १ लाख रुपैयाँ मिनाहा गरेका छन् । कोरोना महामारीले गर्दा आर्थिक गतिविधि नै ठप्प भएको अवस्थामा न्यौपानेले देखाएको उदारताप्रति धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघले उनलाई दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गरेको हो ।

शनिवार बिहान उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी लगायत पदाधिकारहरु नवलपुर पुगेर न्यौपानेलाई सम्मान गरेका हुन् । लकडाउनका कारण लामो समय पसल बन्द गर्दा मारमा परेका व्यवसायीले न्यौपानेबाट ४५ दिनको घरभाडा छुट पाउँदा खुशी व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष न्यौपाने नेपाल टेलिभिजनका सर्लाही संवाददाता र उज्यालो अभियान मिडिया नेटवर्क प्रा. लि. का सञ्चालक हुन् । यस्तै १ महिनाको घरभाडा छुट दिने नवलपुरकै मोहन मैनालीलाई पनि उद्योग वाणिज्य संघले दोसल्ला ओढाएर सम्मान गरेको छ ।