सर्लाहीमा अहिलेसम्म डुबान तथा कटानको समस्या देखिएको छैन् : प्रजिअ जिसी

5
लखन्देही खोलामा आएको बाढी । (फाईल तस्बिर : जनार्जन खत्री/उज्यालो अभियान)

मलंगवा – पानी पर्नेक्रम बढेपनि सर्लाहीमा ठूलो किसिमको कटान तथा डुबानको समस्या देखिएको छैन् ।

पानीको राम्रोसँग निकास नरहेको केही ठाउँ र खेती हुने फाँटहरुमा पानी जमेको भएपनि ठुलै किसिमको कटान र डुबानको समस्या एवं जनधनको क्षति जिल्लाभर कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उज्यालो अभियानसँग बताए । जिल्लाको बाग्मती, लखन्देही, मनुष्मारा, कालिन्जोर, फूल्जोर, बाँके, सफाहा, झिम लगायतका खोला तथा खोल्साहरुमा बाढी आएपनि पानीको बहाव भने सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो बेला कतै कटान तथा डुबानको समस्या आएमा तत्काल त्यसको रोकथाम तथा उद्धारमा खटिन सुरक्षाकर्मी र आवश्यक सामग्रीहरु तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । मौसमविद्ले आगामी आइतवारसम्म मौसम सक्रिय भई धेरै पानी पर्ने बताएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सचेत हुन प्रजिअ जिसीले आग्रह गरेका छन्

बिहिवार रातीदेखि सुक्रवार बिहान अबेरसम्म पानी परेको सर्लाहीमा दिउँसोबाट भने मौसम उघ्रिएर पानी पर्न रोकिएको छ । वर्षाको समयमा विशेष गरी जिल्ला सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगका पालिकाहरुमा डुबानको समस्या धेरै हुने गरेको छ ।

अघिल्ला सालहरुमा झैं यस वर्ष अहिलेसम्म ठूलो किसिमको समस्या नआएको र पानीको निकास नरहेको ठाउँहरु तथा हिलाम्मे सडक भएका क्षेत्रमा पानी जमेर समस्या भएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।