हरिवनमा ८ लाखको गाँजा जलाईयो

9
केही समय अघि बरामद् गाँजा आगो लगाएर जलाईंदै । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – ईलाका प्रहरी कार्यालय हरिवनले लागूऔषधको रुपमा प्रयोग हुने गाँजा नष्ट पारेको छ ।

विहिबार दिउँसो हरिवन–११, बाँसाटोलदेखि पूर्व एकान्त स्थानमा गाँजा जलाएर नष्ट पारिएको हो । गत असार १० गते बागमती नगरपालिका–१२, कर्मैयाबाट बरामद् गरिएको ४१ किलो गाँजा जलाएर नष्ट पारिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रहरी निरीक्षक उपाध्यायका अनुसार ४१ वर्षीय सन्तबहादुर ब्लोनको घरमा लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद् गरिएको हो । ब्लोनलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्धा प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

पछिल्लो समय सिन्धुली र मकवानपुरबाट सर्लाही हुँदै भारततर्फ गाँजा तस्करी भईरहेको जानकारहरु बताउँछन् । भारत पुर्याउँदा गाँजाको प्रति किलो २० हजार रुपैंयामा किनबेच हुने गरेको प्रहरी स्रोतले जनाएको छ । प्रतिकिलो २० हजारमा बिक्री हुने हिसाबले ४१ किलो गाँजाको ८ लाख २० हजार रुपैंया हुने एक प्रहरी अधिकृतले जानकारी दिए ।