सर्लाहीको बलरामा कुटपीटबाट एक जनाको मृत्यु, बागमतीमा एक पुरुष मृत फेला

प्रतिकात्मक तस्बिर ।

हरिवन – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बागमती नदी छेउको बलरा नगरपालिकामा कुटपीटबाट एक जनाको मृत्यु भएको छ ।

लेनदेनको विषयमा छलफल गर्न मंगलवार बलरा नगरपालिकास्थित छन्कीटोलास्थित आफन्तको घर आएका रौतहटको राजदेवी नगरपालिका–६, का ३५ वर्षीय अशोक यादवको कुटपीटबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । कुटपीटमा संलग्न भएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अनुसन्धान प्रभावित हुने भन्दै उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन् ।

मृतक अशोकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी वुधवार आफन्तलाई बुझाइएको डीएसपी कुँवरले बताए । उनले घटनाको थप अनुसन्धन भइरहेको बताए ।

यसैबीच सर्लाहीको बागमती नगरपालिका–१, का ४० वर्षीय कलमान लोप्चन वुधवार अपरान्ह स्थानीय पधेरी खोल्सामा मृत फेला परेका छन् । अहिले ईलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।