प्रधानमन्त्री ओलीको पक्षमा सर्लाहीको लालबन्दीमा प्रदर्शन

1

लालबन्दी – प्रधानमन्त्री केपी शर्मा ओलीको उनी अध्यक्ष रहेकै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट राजीनामा माग गरिएको विरोधमा सर्लाहीको लालबन्दीमा वुधवार प्रदर्शन गरिएको छ ।

लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा नेकपाका युवा नेता तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरे । राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी शर्मा ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’लगायत नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

लालबन्दीस्थित डुमडुमे मन्दिरबाट सुरु भएको ¥याली मरिण जाने चौकसम्म पुगेर पुनः पश्चिम बसपार्कमा आई कोण सभामा परिणत भएको कार्यक्रम सञ्चालक एवं अनेरास्ववियूका नेता सरोजबाबु न्यौपानेले जानकारी दिए । प्रर्दशनपछि आयोजित कोण सभालाई समापन गर्दै अनेरास्ववियूका नेताहरु श्रीकृष्ण उपे्रती, अन्जना शिवाकोटी, समिम खान र नेकपाका नेता उत्तरकुमार मैनालीले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु बिडम्बना भएको बताए ।

कार्यक्रममा नेकपाका युवा नेता एवं हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भु मैनाली लगायत नेकपा र अनेरास्ववियूका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो । केही दिनअघि हरिवनमा पनि प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको थियो ।