सर्लाहीका ६५२ कोरोना संक्रमितमध्ये ५८० जना डिस्चार्ज, ४०२ जना क्वारेन्टाइनमा

3
सदरमुकाम मलंगवास्थित कोभिड अस्थायी अस्पताल बनाइएको नर्सिङ कलेज । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाहीका ६५२ जना कोरोना संक्रमितमध्ये ५८० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

जिल्लामा अब ७२ जना संक्रमित मात्रै आइसोलेसनमा रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार जिल्लामा आज भने संक्रमित थपिएका छैनन् । परीक्षणको दायर बढाउन नसक्दा केही दिनदेखि थोरै संख्यामा मात्रै संक्रमित थपिएका छन् । जिल्लामा अहिले कोरोना संक्रमितलाई राख्न सदरमुकाम मलंगवा, ईश्वरपुर र बरहथवामा आइसोलेसन सञ्चालनमा छ ।

आइसोलेसनबाट डिस्चार्ज भई घर गएकामध्ये केही दोस्रो पटक थ्रोट स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरु रहेका छन् भने अधिकांशलाई १४ दिन आइसोलेसनमा राखेपछि घर पठाइएको हो । सरकारले नै १४ दिन आइसोलेसनमा राख्दा कुनै लक्षण नदेखिएका संक्रमितलाई दोस्रो पटक परीक्षण नगराइ घर पठाउने निर्णय गरेको थियो ।

त्यसरी घर पठाइएका संक्रमितलाई घर गएर के गर्ने÷ के नगर्ने भन्ने कुराहरु उल्लेख गरी मन्जुरी नाममा हस्ताक्षर गरेर पठाउने गरिएको मलंगवास्थित नर्सिङ कलेजमा सञ्चालन गरिएको आइसोलेसनमा खटिनु भएका डा. रवी कुमार साहले बताए । घर पठाइएकाहरुलाई तत्काल कतै हिँड्डुल नगरी घरमै बसिदिन आग्रह गर्ने गरिएको डा. साहले बताए ।

यस्तै भारतबाट आउनेहरु घटेसँगै जिल्लाका पालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाइन रित्तिदै गएका छन् । सर्लाहीमा अहिले ४०२ जना क्वारेन्टाइनमा रहेका प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।