छिनछिनमै बत्ती गइरहने समस्याले सर्लाहीवासी हैरान

8
सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीमा फेरि विद्युत अनियमित हुन थालेको छ ।

छिनछिनमै विद्युत कटौति भइरहने समस्याले जिल्लावासी हैरान भएका छन् । यसरी विद्युत अनियमित हुँदा बिजुलीबाट लगातार गर्नुपर्ने काम प्रभावित भइरहेको छ भने विद्युतीय उपकरणहरुमा समस्या देखिन थालेको उपभोक्ताले गुनासो गरेका छन् ।

लालबन्दी वितरण केन्द्रको तुलनामा बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विद्युत् गइरहने समस्या बढी रहेको छ । बरहथवा र मलंगवा वितरण केन्द्रमा विद्युत चुहावट अर्थात बिजुली चोरी बढी नै छ । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले छिनछिनमै बत्ती गइरहने समस्या जिल्लाको नभई केन्द्रीय प्रशारण लाइनकै खराबी भएको बताए ।

प्राविधिक श्रेष्ठले सर्लाही जिल्लामा विद्युतीय उपकरण निकै पुराना रहेका र रौतहटको चन्द्रनिगाहपुरबाट लामो जंगल छिचोल्दै लाईन ल्याउनु पर्दा पनि समस्या बारम्बार आइरहने गरेको बताए ।