टाटासुमोको ठगी धन्दा, ३ हजार भाडा लिएर काठमाण्डौंँ यात्रु ओसार्दै

गुगलबाट साभार प्रतिकात्मक तस्बिर

लालबन्दी – लकडाउन खुकुलो बनाइएको मौकामा सर्लाहीबाट केही टाटासुमोले तेब्बर बढी भाडा लिएर काठमाण्डौँसम्म यात्रु ओसारी रहेको पाइएको छ ।

सरकारले अहिले सार्वजनिक गाडी चलाउन अनुमति दिइसकेको छैन् । तर सर्लाहीको लालबन्दी लगायत हाइवेका केही ठाउँबाट चर्को भाडा लिएर सुमोहरुले यात्रु काठमाण्डौँ लाने÷ल्याउने गर्न थालेका हुन् । सुमोले यात्रुसँग २५ सयदेखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो । अरुबेला सुमोले लालबन्दीदेखि काठमाण्डौंसम्मको भाडा एक हजार रुपैयाँ लिने गरेका थिए ।

लालबन्दीका एक स्थानीयले बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाक्काहाक्की यात्रु ठग्ने काम गरिरहेका उज्यालो अभियानसँग गुनासो गरे । अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भएपनि काठमाण्डौं गइरहेका छन् । तर स्थानीय प्रशासनले भने टाटासुमोलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले टाटासुमोले यात्रु ओसारपसार गरिरहेको बारे आफूलाई जानकारी नभएको र कसैले त्यसो गरिरहेको भए अवैध हुने बताउनु बताए ।

प्रजिअ जिसीले यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्ने समेत बताए । यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिक जस्ता साना खाले सवारीमा पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरिएको यात्रुहरुले गुनासो गरेका छन् । तर यस बारेमा सम्वन्धित निकायबाट अनुगमन तथा नियमन हुन सकेको छैन् ।