प्रम ओलीको पक्षमा हरिवनमा पनि निस्कियो र्याली

शनिबार दिउँसो हरिवन बजारमा निस्किएको ऐक्यवद्धता र्याली । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको पक्षमा सर्लाहीको हरिवनमा ऐक्यवद्धता र्याली निकालिएको छ ।

नेकपा सम्बद्ध युवा, विद्यार्थी लगायतको सहभागितामा आज (आईतबार) दिउँसो हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा र्याली प्रदर्शन गरिएको हो । र्यालीमा हरिवन नगरपालिका वडा नं. १० का वडाध्यक्ष शम्भु मैनाली, विद्यार्थी नेताहरु श्रीकृष्ण उप्रेती, अञ्जना शिवाकोटी, लालबन्दीका युवा नेता नवराज मिश्र लगायतको उपस्थिती रहेको थियो ।

र्यालीका सहभागिले पार्टी आन्तरिक एकता कायम गर, आज हैन भोलीलाई पाँच वर्ष ओलीलाई, राजनैतिक स्थितरता कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए । राजनैतिक स्थिरताका लागि राष्ट्रवादी ओली सरकारका पक्षमा ऐक्यवद्धता र्याली लेखिएको मूल ब्यानर एवं फेर्नु छ छिट्टै देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार लेखिएको सहायक ब्यानर बोकेको र्यालीले हरिवन बजार परिक्रमा गरेको थियो । राष्ट्रवादी नेताको पक्षमा युवाहरुले ऐक्यवद्धता र्याली प्रदर्शन गरेको कार्यक्रम संयोजक गरेका हरिवन घर भई अनेरास्ववियु आरआर क्याम्पस काठमाडौंका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले जानकारी दिए । पछिल्लो समय ओलीको पक्षमा सर्लाहीमा अनेकौं नेताहरु भएपनि हरिवन नगरपालिकाका मेयर गणेश प्रसार्ई भने ओली सत्ता र पार्टीको शक्तिमा नरहदा समेत सर्लाहीमा एकमात्र ओली पक्षीय कार्यकर्ताको रुपमा क्रियाशिल रहँदै आएका छन् । शनिबारको ऐक्यवद्धता र्याली पनि मेयर प्रसाईंकै डिजाईनमा भएको अनुमान नेकपा भित्रैका नेता कार्यकर्ता एवं आम सर्बसाधारणले गरेका छन् ।