नेकपाको विज्ञप्ति असंसदिय, अमर्यादित र तथ्यहिन भएको कांग्रेसको आरोप

सन्दर्भ : धनकौल झडप घटना

हरिवन – नेपाली कांग्रेस सर्लाहीले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर हत्या एवं धनकौल झडप घटना सम्बन्धमा केही दिनअघि जारी गरेको विज्ञप्ति तथ्यहिन भएको आरोप लगाएको छ ।

नेपाली कांग्रेस सर्लाहीका सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार रायले जारी गरेको विज्ञप्तिमा नेकपाको विज्ञप्ति तथा सो विज्ञप्तिमा प्रयोग गरिएको असंसदिय, अमर्यादित शब्दहरुको साथै तथ्यविहिन घटनाको कुरो समेत प्रति नेपाली कांग्रेस सर्लाहीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । रामनगर बोहर्वामा वेवारिसे शव फेला पर्ने वितिकै बेलैमा कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोले प्रशासनमा जानकारी गराई आफ्नो दायित्व निर्वाह गर्दा उल्टै नेकपाका कथित व्यक्तिहरुको दबावमा वडाध्यक्ष सहित आफ्नो पार्टीका ९ जना निर्दोष कार्यकर्ता उपर कपोलकल्पित जाहेरी लिई केहीलाई थूनामा समेत राखेको सम्बन्धमा पार्टीले यसअघि नै धारणा सार्वजनिक गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘रामनगर बोहर्वाको लासलाई लिएर लासको राजनीति गर्दै नेकपाका कार्यकर्ताहरुले छदम भेष धारण गरी आप्mनो पार्टीका नेता कार्यकर्ताको धारणा अशान्ति उत्पन्न र अश्लिल हावभाव व्यक्त गर्ने क्रममा प्रतिपक्षमा भएको झडपलाई तोडमोड गरि बंग्याईँ हाम्रो पार्टीका जन निर्वाचित जनप्रतिनिधि एवं राजनैतिक व्यक्तित्व प्रदेश सभा सदस्य माननीय विरेन्द्रप्रसाद सिंह तथा निर्वाचित गा.पा. अध्यक्ष लगायत पार्टीका जिम्मेवार नेता र कार्यकर्ताहरु उपर तथ्यहिन लाञ्छना लगाई प्रेस विज्ञप्ति निकाल्नु र जनतालाई सत्यतथ्यबाट अवगत नगराई झुक्याउन खोज्नु घोर आपत्तीजनक रहेको हाम्रो ठहर छ । यसको घोर निन्दा पनि गर्दछौं ।’ कांग्रेस सभापति रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आफ्ना जनधनको रक्षा गर्न तल्लिन रहने नेपाली कांग्रेसका कार्यकर्ता एवं सर्वसाधारण उपरमा अन्धाधुन्ध गोली प्रहार गर्नु, लाठी फराठाहरुबाट घाईते तुल्याउनुले नेकपाका नेता एवं कार्यकर्ताहरुको चरित्र उदांगो भएको छ । यसमा स्थानीय प्रहरी प्रशासनले काखापाखा तथा मर मोलाहीजा गर्न मिल्दैन र सही छानविन गरी दोषिलाई कानूनको दायरामा ल्याउनु नै पर्दछ ।’

कांग्रेस सभापति रायले जारी गरेको विज्ञप्तिमा पार्टीका निर्दोष नेता एवं कार्यकर्तालाई आस्थाका आधारमा थूनामा राख्ने र फसाउने दुस्प्रयासलाई अबिलम्ब रोक्दै थुनामुक्त गर्नुपर्ने साथै घाईतेहरुको समुचित औषधी उपचारको व्यबस्था मिलाउन सरकार सित माग गरिएको छ ।