सासापुर स्वास्थ्य चौकीले अब २४ सैँ घण्टा सेवा दिने, नगरपालिकाद्वारा एमबीबीएस डाक्टर नियुक्त

नवनियुक्त डा. गौतमलाई स्वागत गरिँदै । तस्बिर : अच्यूतम सापकोटा

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले करारमा एमबीबीएस डाक्टर नियुक्त गरेको छ । नगरपालिकास्थित सासापुर स्वास्थ्य चौकीबाट २४ सैँ घण्टा सेवा प्रवाह गर्ने उद्देश्यले प्रतिस्पर्धाबाट डा. स्मृति गौतमलाई नियुक्त गरिएको हो ।

मेयर गणेश प्रसाद प्रसाईले नागरिक मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने अभियान अन्तर्गत करारमा एमबीबीएस डाक्टर नियुक्त गरेर सेवा प्रवाह गर्न सुरु गरिएको बताए । स्वास्थ्य चौकीमै एमबीबीएस डाक्टरको व्यवस्था गरेपछि हातमुख नै जोर्न गाह्रो पर्ने गरिब तथा विपन्न नागरिक अब सामान्य रोगको औषाधोपचार गर्न चर्को शुल्क तिरेर प्राईभेट अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने मेयर प्रसाईले दावी गरे । उनले ७० वर्ष माथिका वृद्धबृद्धालाई बिना कुनै शुल्क औषधि उपचार गर्ने, नागरिकको स्वास्थ्य बीमा गर्ने, सासापुर स्वास्थ्य चौकीबाट रेबिजको निःशुल्क उपचार गर्ने जस्ता सेवा प्रवाह गर्न लागिएको जानकारी दिए ।

मेयर प्रसाई लगायतले सुक्रवार नगरपालिकामा आयोजित एक दिने नसर्ने रोग सम्वन्धी अभिमुखीकरणमा नवनियुक्त डा. गौतमलाई स्वागत समेत गरेका छन् । सोही अवसरमा सशस्त्र प्रहरीको बेस क्याम्प हरिवनमा सरुवा भएर आएका डीएसपी जीवन पाण्डेलाई पनि स्वागत गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका इन्चार्ज डा. चन्दन चौधरीले हृदयघात, फोक्सो क्यान्सर, बे्रन ह्यामरेज लगायत नसर्ने रोगका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । मेयर प्रसाईकै अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल, स्वास्थ्य शाखा प्रमुख शशीकान्त सिंह लगायतको उपस्थिति थियो ।