रामनगर घटना : नेकपाद्धारा मलंगवामा प्रदर्शन, मृतकको शव ६ दिनदेखि अस्पतालमा

5
मृतक रामजल यादव ।

मलंगवा – दक्षिण–पश्चिम भेगस्थित बाग्मती नदी किनारमा पर्ने सर्लाहीको रामनगर गाउँपालिकामा भएको हत्याकाण्डलाई अझ बढी राजनीतिक रंग दिन थालिएको छ ।

प्राय : सानो विषयलाई ठूलो बनाई तनाव उत्पन्न गराइने क्षेत्र नं. ४ मा हत्याजस्तो जघन्य अपराधको घटनालाई अहिले राजनीतिक मुद्दा बनाइएको हो । सत्तारुढ नेकपाका कार्यकर्ता रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको गत आइतवार अज्ञात व्यक्तिले घर नजिकै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटना लगत्तै प्रहरीले त्यहाँका वडाध्यक्ष रामनरेश यादवलाई नियन्त्रणमा लिएको थियो ।

मृतक रामजलका छोराले वडाध्यक्ष लगायत व्यक्ति मिलेर हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएका छन् । नेपाली काँगे्रसले आफ्ना पार्टीका नेता समेत रहेका वडाध्यक्ष महतोलाई राजनीतिक प्रभावमा परेर प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाएको छ । सो पार्टीले वडाध्यक्षलाई रिहाई गर्न माग गर्दै आइजीपी ठाकुर प्रसाद ज्ञवाली नै जिल्ला आएको दिन वुधवार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको थियो ।

सोही घटनालाई लिएर नेकपाले सुक्रवार मलंगवामा विरोध प्रर्दशन गर्दै घटनामा वडाध्यक्ष लगायत व्यक्तिकै संलग्नता रहेको दावी गर्दै प्रदर्शन गरेको छ । प्रदर्शन गर्न सदरमुकाम मलंगवा आएका नेकपाका नेता एवं मृतकका परिवार र आफन्तलाई सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धान भइरहेकाले दोषी पहिचान भएपछि कारवाही हुने भन्दै शव बुझ्न आग्रह गरे । तर शव बुझिएन् ।

काँगे्रस र नेकपाले घटनालाई राजनीतिक मुद्दा बनाईरहँदा मृतक रामजलको शव ६ दिनदेखि जिल्ला अस्पतालमै रहेको छ ।