बर्खा लागेसँगै चुरेका बस्तीमा समस्या, अधिकांश स्थानका सडक अवरुद्ध

3
चुरेभेगस्थित बाँके खोलाको किनारमा रहेको ईश्वरपुर नगरपालिकाको एक बस्ती । फाइल तस्बिर : मदन बर्माको फेसबुकबाट

लालबन्दी – बर्खा लागेसँगै सर्लाहीको उत्तरी चुरे क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन् ।

पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे पाखाका गोरेटो बाटोहरु अवरुद्ध भएका हुन् । जिल्लाको साबिकका करिव आधा दर्जन गाउँ विकास समिति (गाविस) का माथिल्लो भागमा सडक पुगेको छैन् । सडक नपुगेको त्यस भेगका नागरिक हरेक सालको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् ।


पूर्व–पश्चिम राजमार्गमा पर्ने ईश्वरपुर, लालबन्दी, हरिवन र बाग्मती नगरपालिकाको चुरेमा पर्ने बस्तीहरुमा यस्तो समस्या छ । ईश्वरपुर नगरपालिकाको वडा नं. १२, मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिकाको वडा नं. १५ को शीरकालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दीकै वडा नं. १४ नारायणखोला, वडा नं. १२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिकाको वडा नं. १ र ८ का चुरे बस्ती तथा बाग्मती नगरपालिकाको साबिक ढुङ्गे्रखोला गाविसमा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक पानीले बिगारेको स्थानीय वासिन्दाले बताएका छन् ।

खोलाको बगर एवं चुरे पहाडका गोरेटो बाटो ठाउँ–ठाउँमा बिग्रिदा पानी पँधेरो गर्नदेखि बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन थालेको ईश्वरपुर नगरपालिका–१२, गुइडुङका वीरबहादुर थिङले गुनासो गरे । खोलामा बाढी आउँदा चुरेका वासिन्दालाई बर्खायाममा आफू बसेको ठाउँबाट अर्को बस्ती सम्म जान मुस्किल पर्छ ।

हिउँद लागेपछि भने चुरेका गोरेटो बाटो गाउँले आफै र खोलाको बगरको बाटो यातायात व्यवसायी मिलेर मर्मत गरी हिँड्डुल गर्न मिल्ने र गाडीघोडा चल्न सक्ने बनाउने गरेका छन् ।