उपचारका लागि काठमाण्डौं लान लागिएका मलद्वारविहिन शिशुको मृत्यु

5
मलद्वारविहिन शिशुलाई उद्धार गर्न बिहिवार बिहान पिडारी पुगेको टोली । तस्बिर : भरतकुमार कार्कीको फेसबुकबाट

जनार्जन खत्री, उज्यालो अभियान/ हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा जन्मिएका मलद्वार नभएको शिशुको बिहिवार मृत्यु भएको छ ।


स्थानीय अनपीदेवी माझीले यही असार ७ गते पाँचौं सन्तानका रुपमा मलद्वार नभएको छोरा जन्माएकी थिईन् । शिशुलाई विभिन्न सामाजिक व्यक्तिहरुको पहलमा निःशुल्क रुपमा उपचारका लागि काठमाण्डौं लाने तयारी भइरहेको बेला उनको मृत्यु भएको हो । आर्थिक अवस्था अत्यन्त नाजुक रहेको परिवारमा मलद्वार नभएको शिशु जन्मिएको जानकारी पाएपछि वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पाण्डवराज बराल निःशुल्क उपचारको प्रवन्ध मिलाएर शिशुलाई लिन सर्लाही आएका थिए ।


डाक्टरसँग कुरा गरेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको थिएँ, त्यसका लागि बच्चालाई लिन म आफै वुधवार राती सर्लाही पुगेको थिएँ, बिहिवार दिउँसो काठमाण्डौं फर्किदै गरेका स्वास्थ्यकर्मी बरालले उज्यालो अभियानसँग दुःखी हुँदै भने ‘हामी बिहिवार बिहान सबेरै शिशुको घर पुग्दा उनको मृत्यु भइसकेछ ।’ स्वास्थ्यकर्मी बरालले बैलेमा खबर नहुँदा शिशुलाई बचाउन नसकिएको बताए ।


समाजसेवी भरतकुमार कार्कीले उपचारका लागि सबै तयारी गरिसकेको अवस्थामा शिशुको मृत्यु हुँदा दुःख लागेको बताए । कार्कीले नै सामाजिक सञ्जाल फेसबुकमार्फत शिशुको उद्धारका लागि अपिल गरेका थिए । शिशुलाई उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाउन बिहिवार बिहानै प्रदेश सभा सदस्य बेची लुङ्गेली, हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुर, उपमेयर रेणुका काफ्ले, समाजसेवी भरत कुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र लामा लगायत पिडारी पुगेका थिए ।


प्रदेश सभा सदस्य लुङ्गेलीले मृतक शिशुको परिवारको अवस्था अत्यन्त दयनिय रहेको जानकारी दिईन् । शिशुको घर हेर्दा मन नै भक्कानिएर आयो, हामी पुग्दा छानोबाट पानी चुहिरहेको थियो, प्रदेश सभा सदस्य लुङ्गेलीले भनिन् ‘माझी परिवारलाई ओत लाग्नका लागि भोली (सुक्रवार) नै त्रिपाल लगायतको सामग्री पठाउछौँ ।’


मृतक शिशुको परिवारलाई केही नगद, चामल, दाल, नुन, तेल, अण्डा लगाायत पौष्टिक आहार सहयोग गरेर फर्किएको लुङ्गेलीले बताईन् । अनपीदेवीको यसअघिका तीन छोरी र एक छोरा छन् । उनको श्रीमानले ज्याला मजदुरी गरेर परिवारको पालनपालन पोषण गर्दै आएका छन् ।