सर्लाहीका अधिकांश पालिकामा नीति, कार्यक्रम र बजेट प्रस्तुत, हरिपूर्वामा भने कर्मचारीको समस्या देखाउँदै बजेट ल्याइएन

लालबन्दी – सर्लाहीका अधिकांश पालिकाहरुले वुधवार आ–आफ्नो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

संघ र प्रदेश सरकारले जस्तै सर्लाहीका स्थानीय तहहरुले पनि आफ्नो गाउँ तथा नगर सभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट पेश गरेका हुन् । पालिकाले पेस गरेको बजेट अब गाउँ तथा नगर सभाबाट स्वीकृत भएपछि खर्च गर्न पाइन्छ ।

११ नगरपालिका र ९ वटा गाउँपालिका रहेको सर्लाहीमा हामीलाई प्राप्त जानकारी अनुसार हरिपूर्वा नगरपालिका बाहेक अन्य पालिकाले बजेट ल्याएको दावी गरेका छन् । हरिपूर्वा नगरपालिकाले कर्मचारी अभाव देखाउँदै केही दिनपछि मात्रै नगर सभा गरिने जनाएको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकम र पालिकाहरुको आफ्नै आन्तरिक स्रोतका आधारमा बजेट प्रस्तुत गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार तोकिएको समयभित्र आगामी आर्थिक वर्षको बजेट पेश नगर्ने पालिकालाई संघले अनुदान रोक्न सक्ने व्यवस्था छ । पोहोर साल समयमै बजेट नल्याएका केही पालिकालाई अनुदान घटेपछि विकास निर्माणको काममा असर परेको थियो ।