‘आइजीपी’ जिल्ला आएकै बेला रामनगरमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न माग गर्दै मलंगवामा प्रदर्शन

सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्न जम्मा भएका काँगे्रसका नेता कार्यकर्ता । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाहीको रामनगर घटनापछि वडाध्यक्ष रामनरेश महतोलाई प्रहरीले हिरासतमा लिएको विरोधमा नेपाली कांंग्रेसले वुधवार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।

रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको गत आइतवार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । सो घटना लगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई नियन्त्रणमा लिएको थियो । आफ्ना पार्टीका नेता समेत रहेका वडाध्यक्ष महतोलाई प्रहरीले सत्तापक्षको दबाबमा नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको भन्दै कांंग्रेसले विरोध जनाएको हो ।

विरोध प्रदर्शनमा सर्लाही क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह, कांंग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य वीरेन्द्र सिंह लगायतको उपस्थिति थियो । हत्याको घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई खबर गर्ने वडाध्यक्षलाई नियन्त्रणमा लिएर फसाउने काम भएको आरोप कांंग्रेसले लगाएको छ ।

मृतक रामजलका छोराले वडाध्यक्ष यादवकै संलग्नतामा घटना भएको भन्दै वडाध्यक्ष लगायत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । वडाध्यक्ष यादवलाई अनुसन्धानका लागि भन्दै प्रहरीले घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याई हिरासतमा राखेको छ ।

यसअघि सत्तारुढ नेकपा सर्लाहीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्ष महतो र आफ्ना पार्टीका कार्यकर्ता रामजलबीच बाटो ग्राबेलको विषयमा विवाद भएपछि हत्याको घटना भएको भन्दै घटनाको छानबिन गर्न माग गरेको थियो । हरेक कुरालाई राजनीतिक विषय बनाइने क्षेत्र नम्वर ४ मा पछिल्लो पटक रामनगरमा भएको हत्याको घटनालाई पनि राजनीतिक रंग दिइँदा विवाद बढ्दै गएको छ ।