सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल चार हजार घुस रकमसहित पक्राउ

16

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ उनीहरुलाई चार हजार रुपैयाँ घुस रकमसहित रङ्गे हात पक्राउ गरेको हो । लेखा अधिकृत सिंह र लेखापाल यादवलाई सेवाग्राहीलाई भुक्तानि दिँदा कमिसन स्वरुप मागिएको घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अहिले (मंगलवार साँझ) मुचुल्का संकलन गरी उनीहरुलाई नगरपालिका कार्यालयबाट अख्तियारको कार्यालय बर्दिवास लाने तयारी भइरहेको छ । उनीहरुलाई भोली (वुधवार) कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल, काठमाण्डौं पठाईने बर्दिवास कार्यालयका एक अधिकारीले उज्यालो अभियानलाई जानकारी दिए ।

आर्थिक वर्षको अन्तिममा अहिले सर्लाहीका विभिन्न पालिकामा सम्पन्न भएका योजनाहरुको भुक्तानि लिने चटारो छ । त्यसक्रममा केही पालिकाका कर्मचारीले कमिसन मागेर हैरान पार्ने गरेका गुनासो सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् ।