सर्लाही कोरोना अपडेट : आज एक संक्रमित थपिए, ५४४ पुगे

मलंगवा – सर्लाहीमा आज (आइतवार) एक जना मात्रै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा थ्रोट स्वाब परीक्षण गर्दा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका कौडेना गाउँपालिकाका एक पुरुषमा संक्रमण पाइएको हो । आइतवार एक जना नयाँ संक्रमित थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ५४४ पुगेको छ ।

नयाँ संक्रमित थपिदै जाँदा जिल्लामा कोरोना मुक्त भएर घर पर्किनेहरु पनि बढिरहेका छन् । शनिवारसम्म १८३ जना आइसोलेनबाट डिस्चार्ज भएर घर गएका र आज डिस्चार्ज हुनेहरुको विवरण पनि प्राप्त भइरहेकाले साँझ अबेरसम्म विस्तृत रुपमा प्राप्त हुने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

घर पठाइएकामध्ये केही दोस्रो पटक थ्रोट स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरु छन् भने केहीलाई पुनः परीक्षण नै नगराई सरकारले तय गरेको आइसोलेसन मापदण्ड अनुसार घर पठाइएको हो । आइसोलेसनबाट घर पठाइएकालाई तत्काल कतै हिँड्डुल नगरी होम आइसोलेसनमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।