टिपरले रुखको हाँगा भाँच्दा छाहारीमा बसेकी महिलाको मृत्यु, एक घाईते

9

ब्रम्हपुरी – भारतसँग सीमा जोडिएको सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–६, नोकेल्वामा टिपरको हाइड्रोलिकले रुखको हाँगा भाँच्दा छाहारीमा बसिरहनु भएकी एक महिलाको मृत्यु भएको छ । सो घटनामा अर्की एक महिला गम्भीर भएकी छिन् ।


आइतवार दिउँसो ना ४ ख ५४४८ नं. को टिपरले सडकमा ग्राबेल झारी हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगामा लागेर हाँगा नै भाँचिएको थियो । हाँगा भाँचिएर किच्दा स्थानीय ४५ वर्षीया कैलासिय देवीको घटनास्थलमै मृत्यु भएको हो ।


घटनामा सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाईते भएकी छिन् । उनलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । टिपर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।


यसैबीच सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बागमती नदी छेउमा पर्ने रामनगर गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । स्थानीय ४५÷५० वर्षका एक पुरुषको हत्या भएको हो । प्रहरीले आधिकारिक रुपमा घटनाको पुष्टी गरिसकेको छैन् ।

सर्लाही प्रहरीका प्रमुख एसपी विश्वमणि पोखरेलले डीएसपीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र विस्तृत विवरण प्राप्त भएपछि घटनाबारे तथ्यहरु सार्वजनिक गरिने बताए ।