सर्लाहीमा वुधवार दुई जना नयाँ संक्रमित थपिए, चार जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ

6

मलंगवा – सर्लाहीमा वुधवार पनि कोरोना संक्रमित थपिएका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार जिल्लामा वुधवार दुई जना नयाँ संक्रमित थपिएका हुन् ।

जिल्लाका ६ जनाको पोजेटिभ रिपोर्ट आएपनि ४ जना संक्रमित दोस्रो पटक स्वाब परीक्षण गराउँदा पनि पोजिटिभ नै रिपोर्ट आएकाहरु हुन् । वुधवार थपिएका दुई जना नयाँ संक्रमित मलंगवा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरु हुन भने दोस्रो पटक पोजेटिभ रिपोर्ट आएका ४ जना हरिपुर नगरपालिकास्थित फरहदवा स्वास्थ्य चौकीको आइसोलेसनमा रहेकाहरु हुन् ।

वुधवार थपिएका दुई नयाँ संक्रमितसँगै सर्लाहीमा कुल कोरोना सक्रमितको संख्या ५२८ पुगेको छ । नयाँ संक्रमित थपिँदै गर्दा जिल्लामा कोरोनालाई जितेर घर फर्किनेहरु पनि बढिरहेका प्रमुख जिल्ला अधिकारी जिसीले बताए । हरिपुरबाटै वुधवार नै ५ जना संक्रमित कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् ।

प्रजिअ जिसीका अनुसार तीन साताअघि नै यहाँबाट स्वाब संकलन गरेर पठाएकाहरुको अहिले धमाधम रिपोर्ट आइरहेको छ । सर्लाहीबाट जनकपुर पठाइएको स्वाब, त्यहाँको ल्याबमा खराबी आएपछि काठमाण्डौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको थियो । जनकपुरबाट टेकु पठाउने क्रममै विभिन्न ठाउँको स्वाब राखिएको डब्बा गन्जगोल पारिँदा रिपोर्ट आउन ढिलाई भएको हो ।

तीन साता क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसिरहेकाहरु आक्रोसित बनेका छन् । लालबन्दी लगायतका पालिकाहरुबाट पठाइएको स्वाबको अझै पनि रिपोर्ट आउन सकेको छैन् ।