सर्लाहीमा आज थपिएका सबै १६ संक्रमित मलंगवाका

3

मलंगवा – सर्लाहीमा आज मंगलवार १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमित सदरमुकाम मलंगवा नगरपालिकाका हुन् ।

मलंगवास्थित कबर्ड हलको क्वारेन्टाइनमा बसिरहेकाहरुमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा पीसीआर विधीबाट स्वाब परीक्षण गराउँदा १६ जनामा कोरोना पोजिटिभ पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । आज थपिएका संक्रमितलाई मलंगवाकै नर्सिङ कलेजमा बनाइएको कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा राखिने छ । सदरमुकाम मलंगवा नगरपालिकाका मेयर निरसल साहका अनुसार तीन साता भन्दा अघि नै स्वाब संकलन गरेर पठाइएकाहरुको आज बल्ल रिपोर्ट आएको हो ।

सर्लाहीमा यसअघि हिजो सोमवार २३ जना कोरोना संक्रमित भेटिएका थिए । आज थपिएका १६, हिजोका २३ समेत गरी सर्लाहीमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ५ सय २६ पुगेको छ । जनकपुरको ल्याबले लापरवाही गरी सावधानी नपनाई सर्लाहीका विभिन्न ६ पालिकाको स्वाब पठाएको धेरै दिन भइसक्दा समेत रिपोर्ट आउन सकेको छैन् ।

रिपोर्टमा ढिलाई भएपछि अहिले आफू नै काठमाण्डौं पुगेर चाँडो परीक्षण गरीदिन दबाब दिइरहेको मेयर साहले बताए ।