कोरोना संक्रमित ह्वात्तै बढेकाले सर्लाहीमा अझै यी कार्यालय नखुल्ने

मलंगवा – नेपाल सरकारले आज (सोमबार) बाट मुलुकभरका सबै सरकारी कार्यालय दुई ‘शिफ्ट’मा संचालन गर्ने निर्णय गरेपनि सर्लाहीमा भने महत्वपूर्ण कार्यालयहरु भने नखुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले आज (सोमबार) एक सूचना प्रकाशित गरी सेवा प्रवाह नहुने सरकारी कार्यालयबारे जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा, भूमिसुधार एवं मालपोत कार्यालय मलंगवा, मालपोत कार्यालय हरिवन र बरहथवा, नापी कार्यालय मलंगवा, हरिवन र बरहथवा अर्को आदेश वा निर्णय नभएसम्म बन्द रहने उल्लेख छ । ‘यस जिल्लामा कोरोना भाईरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको र सो को कारण संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम भएको अवस्थामा धेरै भिडभाड हुने सरकारी कार्यालयहरुबाट सेवा प्रवाह गर्दा त्यस्तो जोखिम झनै बढ्न जाने सम्भावनालाई दृष्टिगत गरी समुदायलाई कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगाउन’, प्रजिअ जिसीद्वारा जारी सूचनामा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन, २०२० को दफा २ अनुसार मिति २०७७ असार १ देखि २ शिफ्टमा प्रवाह गर्ने भनिएका सेवाहरु अर्को आदेश वा निर्णय नभएसम्मको लागि अत्यन्त भिडभाड हुने देहाएका सरकारी कार्यालयहरुबाट प्रवाह नगरिने व्यहोरा जिल्ला संकट व्यवस्थापन केन्द्रको मिति २०७७ जेठ ३२ को निर्णय अनुसार सर्वसाधारण एवं सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रशासन, मालपोत र नापी कार्यालयमा अत्यन्त भिडभाड हुने भएकाले ती कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको प्रजिअ जिसीले उज्यालो अभियानलाई बताए । अन्य सरकारी कार्यालयबाट भने बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ शिफ्टमा सेवाग्राहीहरुलाई सेवा प्रवाह हुनेछ ।

त्यसैपनि अत्यन्त भिडभाड हुने प्रशासन, मालपोत र नापी कार्यालयमा ८३ दिनपछि खुल्दा थेग्नै नसकिने गरी भिड बढ्ने र जसले गर्दा कोरोना भाईरस संक्रमण समुदाय स्तरमा बढ्ने जोखिम उच्च हुने भएकाले ती कार्यालयहरु सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

सर्लाहीमा हालसम्म ४८७ जना कोरोना संक्रमित फेला परिसकेका छन् । अझै सयौंको रिपोर्ट आउन बाँकी छ ।