हरिवनमा सरकार विरुद्ध युवाहरुको प्रदर्शन

5
हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ किनारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका युवाहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ किनारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका युवाहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा आज (शनिबार) मध्यान्ह केपी ओली सरकार विरुद्ध स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

लकडाउन भएपनि डेढ दुईसय युवाहरुको उपस्थिती रहेको ¥यालीले विभिन्न नाराबाजी सहित हरिवन बजार परिक्रमा गरेको थियो । राष्ट्रप्रेमी हरिवन युवा समाजको ब्यानरमा जम्मा भएका युवाहरुले संघीय सरकार सहित हरिवन नगरपालिकाको कार्यशैली प्रति समेत व्यंग्यात्मक कटाक्ष सहितको नाराबाजी लगाएका थिए । केपी ओली सरकार कोरोना भाईरस संक्रमण नियन्त्रण भन्दापनि भ्रष्ट्राचारमा लिप्त भएको युवाहरुको आरोप थियो ।

युवाहरुले बोकेका ब्यानरहरुमा ‘नो पीसीआर, नुन तेल बेसार, कोरोनाको उपचार–डा. केपी ओली’, ‘भारतले सिमा मिच्यो, कोरोनाले देश थिच्यो, सरकारले १० अर्ब घिच्यो’, ‘पैसा छैन गोजीमा, सरकार करको खोजीमा’, ‘अपराधी घटना बढ्दै छ, ३ तह नै आपसमा लड्दै छ’, ‘छोरा बिग्रे दादागिरी, छोरी बिग्रे सरिता गिरी’ जस्ता व्यंग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरुको ¥यालीले हरिवन बजार समेत परिक्रमा गरेको थियो ।

कोरोना भाईरस संक्रमण नियन्त्रणको सवालमा हरिवन नगरपालिकाले समेत गैर जिम्मेवार काम गरिरहेको भन्दै युवाहरुले मेयर गणेशप्रसाद प्रसाईं विरुद्ध समेत नाराबाजी गरेका थिए । आरडीटी नेगेटिभको भरमा शंकाष्पद सर्वसाधारणलाई क्वारेन्टिनबाट केही दिनभै घर पठाएर नगरपालिकाले समुदायमा त्रास फैलाएको युवाहरुको आरोप थियो ।

कार्यक्रम संयोजन गरेका हरिवन निवासी युवा व्यवसायी निरोज कार्कीले विरोध प्रदर्शनमा स्थानीय स्तरमा उपलब्ध सबै राजनैतिक दलमा आवद्ध युवाहरुको सहभागिता रहेको दाबी गरे । ‘कार्यक्रममा कांग्रेस, राप्रपा, समाजवादी लगायत विभिन्न पार्टी सम्बद्ध युवाहरु स्वतस्फुर्त सहभागि भएका छन्’, कांग्रेस हरिवनका सचिव समेत रहेका कार्कीले भने, ‘केपी ओली नेतृत्वको सरकार र स्थानीय स्तरमा हरिवन नगरपालिकाले कोरोना भाईरस संक्रमण नियन्त्रण भन्दापनि गैर जिम्मेवार एवं लापरबाही प्रस्तुत गरेकाले स्थानीय युवाहरु विरोध प्रदर्शन गर्न बाध्य भएका हुन् ।’ यद्यपी कार्यक्रममा कांग्रेसकै युवा नेता कार्यकर्ताहरुको बढी सहभागिता रहेको एक प्रत्यक्षदर्शीले बताए ।