सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान यसरी भयो भारतीयसँग सशस्त्र प्रहरीको भिडन्त

5
भारतीय समूहको आक्रमणबाट भताभुंग भएको सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थलमा शुक्रबार दिउँसो जम्मा भएका भारतीय सुरक्षा अधिकारी एवं नेपालका सुरक्षा अधिकारी सहित सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)
शुक्रबार दिउँसो जिल्ला अस्पताल मलंगवामा उपचाररत भारतीय समूहको आक्रमणबाट घाईते सशस्त्र प्रहरीका सुरक्षाकर्मी । (तस्बिर : उज्यालो अभियान)

नारायणपुर – भारतीय सिमावर्ती क्षेत्र स्थित सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । झडपका क्रममा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मी समेत घाईते भएका छन् ।

भारतीय समूहले त्रिपाल च्यातेर फालेपछि उदांगो बनेको नारायणपुर नाका स्थित बाँसका टेकोमात्र रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्ट । (तस्बिर : उज्यालो अभियान)

नेपालतर्फ नारायणपुर नाँका अन्तर्गत भारतीय सितामाढी जिल्ला दरबार लालबन्दी गाउँबाट आएको भारतीय समूहसँगको झडपका क्रममा आत्मरक्षाका लागि सिमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । सशस्त्र प्रहरीका सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको हो । छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताईएको छ ।

दशगजाबाट सय मिटर नेपालतर्फ गोली लागेर घाईते भएकाहरुको रगतको टाटा । गोली लागेपछि भारतीय समूहले घाईतेहरुलाई त्यहाँबाट उठाएर भारततर्फै कुदाएका थिए । (तस्बिर : उज्यालो अभियान)

त्यस्तै गोली लागेर भारतीय नागरिक १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाईते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । रामको दाहिने हातमा तथा ठाकुरको खुट्टामा गोली लागेको भारतीय पक्षबाट अनौपचारिक जानकारी आएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । उनीहरुको भारत स्थित स्वास्थ्य केन्द्रमै उपचार भईरहेको छ ।

त्यस्तै भारतीय समूहसँगको झडपका क्रममा सशस्त्र प्रहरी बलका हबल्दार संजय राय, जवान भुपेन्द्र पौडेल र रविन वैठा घाईते भएका छन् । भारतीय समूहको कुटपिटबाट ढाड, टाउको लगायत शरिरका विभिन्न स्थानमा चोट लागेका तीनैजनाको सर्लाही सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको सशस्त्र प्रहरी बल १० नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीका अन्य थप ४ जना समेत घाईते भएपनि उनीहरुको अवस्था भने सामान्य रहेको बताईएको छ ।

दुईपक्षीय झडपका क्रममा सीमा क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीको हतियार (एसएलआर) खोस्ने भारतीय नागरिक ललन भन्ने नवलकिशोर रायलाई सशस्त्र प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिन सफल भएको छ । घटना लगतैदेखि झडप स्थल नारायणपुर नाका स्थित दशगजामा भारतीय सुरक्षा अधिकारी अनि नेपाली सुरक्षा अधिकारीहरुको नेतृत्वमा दुवै देशका बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहानभर तनावपूर्ण बनेको नारायणपुर नाकाको अवस्था दिउँसोबाट सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

झडप पश्चात शुक्रबार दिउँसो नारायणपुर नाका स्थित दशगजा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

सशस्त्र प्रहरी र स्थानीयका अनुसार घटना यसरी भयो

आज (शुक्रबार) बिहान साँढे ८ बजेतिर नारायणपुर नाका स्थित सशस्त्र प्रहरीको अस्थाई पोष्ट स्थलमा ४–५ जना भारतीय नागरिक आएर गफिए जस्तो गरेका थिए । उक्त अस्थाई पोष्टमा सशस्त्र प्रहरी हबल्दार संजय राय र जवान रविन वैठाको ड्युटी बसिरहेका थिए । उनीहरुले एक्कासी हाँमीलाई नेपालतर्फ जान किन रोकेको भन्दै सशस्त्रका दुईजनामाथि हातपात गर्न थाले । हबल्दार राय र जवान वैठाले हात नहाली कुरा के हो भनौं भन्दै गर्दा उक्त समूहले थप आक्रमक हुँदै कुटपिट गर्न सुरु गरेका थिए । भारतीय समूहले सशस्त्र प्रहरीका सुरक्षाकर्मी बस्दै आएको अस्थाई पोष्टको त्रिपाल फालेर पोष्टलाई लथालिंग बनाउन थाले ।

कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि सूरु भएको लकडाउन पूर्ण रुपले पालना गराउनका लागि सशस्त्र प्रहरीले आईकन्ट्याक्टमा रहने गरी सिमाक्षेत्रमा सुरक्षाकर्मीहरु खटाएको छ । नारायणपुर अस्थाई पोष्टमा भारतीय समूहबाट भएको आक्रमण देखिरहेको पूर्व र पश्चिमतर्फका सशस्त्रका सुरक्षाकर्मीहरु तत्काल दौडेर घटनास्थल आउँदै गर्दा भारतको दरबार लालबन्दीतर्फबाट थप २५–३० जनाको समूह आएर ढुंगामुढा सहित आक्रमण गर्न थाल्यो ।

भारतीय समूहको आक्रमण बढेसँगै सशस्त्र प्रहरीका सुरक्षाकर्मी निरीह बन्दै नेपालतर्फ ब्याक भईरहेको अवस्थामा झण्डै सय मिटर उत्तर नारायणपुरतर्फ पुगेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । भिडलाई तितरवितर पार्न हवाई फायर गरिएपनि भारतीय समूहको भिड अझै उत्तेजित बन्दै थप आक्रमणमा जुट्न पुग्यो । त्यही बीचमा सशस्त्र प्रहरीका एक जवानको एसएलआर बन्दुक भारतीय समूहका एकजनाले खोस्न समेत भ्याए ।

शुक्रबार दिउँसो दशगजादेखि दक्षिण भारतीय भूमिमा जम्मा भएका भारतीय सुरक्षा अधिकारी, पत्रकार एवं स्थानीय बासिन्दा । (तस्बिर : उज्यालो अभियान)

गोली चलेको आवाज सुनेपछि दशगजा क्षेत्रमा दौडदै आएका नेपालीहरुले पनि हल्लाखल्ला सहित प्रतिकारका लागि तयार रहेको जनाउ दिएपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले गोली प्रहार गरेको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीले प्रहार गरेको गोली भारतीय समूहका तीनजनालाई लागेको अनुमान गरिएको छ । गोली लाग्ने वितिकै भारतीय समूह घाईतेलाई घिसारेर उतै लैजाने तथा भागदौड गर्न थालेको मौका छोपेर सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले राईफल खोस्ने भारतीयलाई बन्दुक सहित समातेर आप्mनो नियन्त्रणमा ल्याएका थिए ।

करिब करिब १५ मिनेट भित्र सकिएको घटनाबाट आफूहरुको ज्यान सकिएको जस्तो भान भएको झडपका क्रममा डटेर खटिएका सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले अनुभव सुनाए । ‘नेपालतर्फ नारायणपुरका स्थानीय नआएका भए हाँमीलाई गोली हान्ने आँट पनि आउन्नथ्यो, स्थानीयबासिन्दाको हुल देखेर हाँमी एक्कासी उत्साहित भएछौं’, ती सुरक्षाकर्मीले भने, ‘गोली हानेपछि खोसिएको राईफल सहित भारतीयलाई नियन्त्रणमा लिने र घटनालाई तत्काल नियन्त्रणमा लिन सक्यौं ।’

भारतीय समूहले आक्रमण जारी राखेपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले दशगजाबाट झण्डै १०० मिटर नेपालतर्फ व्याक भएर मात्र गोली चलाएको घटनास्थलमा देखिएको रगतको टाटाबाट प्रश्ट देखिन्छ । ‘दशगजा क्षेत्रमा त हाँमी अत्यन्त निरिह अवस्थामा पुगेका थियौं’, ती सुरक्षाकर्मीले भने, ‘जब यताका (नेपालतर्फ) स्थानीयहरुको भिड पुग्यो अनि हाम्रो त खुशीको सिमै रहेन ।’

दशगजा क्षेत्रमा एक्कासी गोली चलेको आवाज सुनेपछि दौडेर घटनास्थल पुग्दा त सशस्त्र प्रहरीमाथी भारतीय समूहले आक्रमण गरिरहेको देखेपछि आफूहरुले पनि प्रतिकार गर्न सूरु गरेको स्थानीय दिपेन्द्रकुमार साहले जानकारी दिए । नेपालकै भूमिमा आएर भारतीय समूहले नेपाली सशस्त्र प्रहरीलाई आक्रमण गरेको देखेपछि आफूहरुले पनि होहल्ला सहित प्रतिकार गरेको उनको धारणा थियो ।

दशगजाबाट झण्डै २०० मिटर भारततर्फ ड्युटि गरिरहेका भारतीय सिमा सुरक्षा बलका ३ जना सुरक्षाकर्मी भएपनि उनीहरुले आक्रमणमा आएका भारतीयलाई नरोकेको स्थानीय बासिन्दा सहित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले गुनासो गरे । ‘सिमाक्षेत्रमै रहेका भारतीय सुरक्षाकर्मीले त्यत्रो भिडलाई नरोक्नुले यो आक्रमण त नियोजित पो हो कि भन्ने भान भईरहेको छ’, एक स्थानीयले भने, ‘भारतको दरबार लालबन्दी क्षेत्रका भारतीय समूहबाट हाम्रो गाउँमा जहिलेपनि लुटपाट लगायत हेप्ने काम भईरहेको छ, आजको घटना पनि त्यसैको अर्को रुप हो ।’

यो पनि पढ्नोस्

भारतीय समुहले अाक्रमण प्रयास गरेपछि सर्लाहीकाे फेनरा नाकामा सशस्त्रद्वारा गाेली प्रहार

भारतीय समूहले गत जेठ १८ गते बिहान पौने ६ बजे विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाका स्थित बोर्डर आउट पोष्टमा ढुंगामुढा सहित आक्रमण गरेको थियो । त्यहाँ पनि हवाई फायर गरेर सशस्त्र प्रहरीले भारतीय समूहलाई भगाएको थियो ।