कांग्रेसद्वारा हरिवन नगरपालिकाको कार्यप्रति खेद व्यक्त

6

हरिवन – नेपाली कांग्रेसले आरडीटीका भरमा क्वारेन्टिनमा राखिएकालाई हरिवन नगरपालिकाले छाडेको घटनाप्रति खेद प्रकट गरेको छ ।

१४ दिन सुरक्षीत साथ राखेर संक्रमण नदेखिएको अवस्थामा मात्र घर पठाउनु पर्नेमा ४ दिनमात्र क्वारेन्टिनमा बसेकालाई समेत आरडीटीका भरमा होम क्वारेन्टिनमा छाडेर नगरपालिकाले गम्भिर लापरबाही गरेको कांग्रेसले आरोप लगाएको छ । हरिवन नगरपालिकाले आरडीटी गरेर छाडेका मध्ये ८ जनालाई पीसीआर टेष्टमा पोजेटिभ देखिएपछि नगरपालिकाको उक्त कार्यप्रति नेपाली कांग्रेस हरिवन नगर समितीले विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको हो ।

४ दिनमात्र क्वारेन्टिनमा बसेको संक्रमित लाई रिपोर्ट नआउदै होम क्वारेन्टाईनमा बस्ने सर्त सहित १८ गत्ते स्वाब संकलन गरी पठाईएकाले संक्रमित खुलेयाम हिडेको हुँदा समुदायमा संक्रमण फैलेको हुन सक्ने भन्दै गाउँले त्रसीत र भयभित भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । ‘जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने चरम लापरबाही निर्णयको यस कमिटी घोर भर्त्सना गर्दछ’ कांग्रेस हरिवन सभापति रामशरण उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मानिसको स्वास्थ्यमात्र नभएर जिवनसँग जोडिएको विषयमा खेलबाड नगर्न सचेत समेत गराउँदछ ।’

विज्ञप्तिमा नगरद्वारा प्रचार गरिएको भन्दा फरक कार्य र तयारी भईरहेको दाबी गर्दै हालको हरिवन नगरपालिकाको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरुका लागि क्वारेन्टिन, आईसोलेसन, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरी तयारी अवस्थामा रहन माग गर्दै अबका दिनमा यस्ता गल्ती नदोहोर्याउन सचेत समेत गराईएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयबाट निर्णय र निर्देशन भई हालसम्म हरिवन नगरमा गठन नगरिएको ‘कोभिड–१९ केस ईन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम’ यथाशिघ्र गठन गरी संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका र उनीहरु पुगेको स्थानहरुको पहिचान गर्दै आवश्यकता परेमा टोल गाउँ नै सिल गरी पीसीआर प्रविधिबाट संक्रमितहरुको उचित उपचार गर्न विज्ञप्तिमा जोडदार माग गएिको छ ।

महामारीको यस्तो अवस्थामा हरिवन नगरपालिकालाई एक्लो नछाडी सदा झैं आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता समेत कांग्रेसले विज्ञप्तिमा जनाएको छ । उसले वर्तमान अवस्थामा अझ बढी सचेत, सजग र सुरक्षामा ज्यादै चनाखो रहनुपर्ने परिस्थितीलाई मध्यनजर गरी समय सापेक्ष बजार व्यवस्थापन र भौतिक दुरी कायम गराउनुको साथै दोस्रो चरणको राहत वितरणको लागि समेत कांग्रेसले जोडदार माग गरेको छ ।

हरिवन नगरपालिकाले आरडीटी नेगेटिभ आएपछि पीसीआर टेष्टका लागि थ्रोट स्वाब संकलन गरेर गत जेठ १८ गते छाडेका २९ जना मध्ये जेठ २७ गते साँझ आएको रिपोर्ट अनुसार ८ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । घर छाडिएपछि संक्रमित देखिएकाहरु गाउँघरमा घुलमिल समेत गरेकाले समुदायमा त्रास बढेको छ । क्रमशः खुल्दै गएको हरिवन बजार विहिबार बिहानबाट पुनः ठप्प पारिएको छ ।